फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०१९’ सार्वजनिक | फ्याक्ट्स वर्ष पुस्तकको पाँचौ संस्करणको बिमोचन
काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरि तयार पारेको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०१९’ संस्करण हिजो सोमवार अनावरण गरेको छ ।
यस २०१९ को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरि बनाइएको सूचनागत दृष्यचित्र (इन्फोग्राफिक्स) हरु समावेश गरिएका छन् । सरल र जानकारीमुलक ढङ्गबाट गरिएको क्षेत्रगत तथ्याङ्कको अन्तर्दृष्टि र विश्लेषण पनि यस संस्करणमा समावेश गरिएको छ । यो पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्र लगायतका १९ क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको पाँचो संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्याङ्क र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ ।
यो संस्करणको मूल्य ने.रु. ४०० राखिएको छ र देशका प्रमुख पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुनेछ । यस पटक पाठकहरुले यो पुस्तक esewapasal.com बाट पनि अर्डर गर्न सक्नेछन् । यसको ई–बुक वी–रिडको मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेर पनि पढ्न सकिनेछ ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ । तथ्याङ्कीय पारस्परीक छलफलहरु र सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) लाई बुझ्नको लागि फ्याक्ट्सले अनलाईन समाचार पोर्टल, दैनिक पत्रिका, मासिक पत्रिका र राष्ट्रिय टेलिभिजनहरुसँग साझेदारी गरेर अघि बढीरहेको छ ।



