झण्डै ३ करोडबराबरको सम्पत्तिको स्रोत नखुलेपछि शाखा अधिकृत रिजालविरुद्ध मुद्दा |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले राजस्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अकूत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
शाखा अधिृकत रिजालले विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी २ करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँबराबरको सम्पत्ति आर्जन गरेको र उक्त सम्पित्तिको स्रोत नखुलेकाले मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।
अख्तियारले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेकाले कारबाही गरिपाऊँ भनी परेको उजुरीका आधारमा छानबिन गरेको थियो ।
मुद्दामा रिजालकी श्रीमती स्वस्थानीलाई समेत प्रतिवादी बनाइएको छ । त्यसैगरी अख्तियारले रेडियो प्रसार सेवा विकास समितिका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराले २ लाख ३१ हजार ७१८ बराबरको भ्रष्टाचार गरेको भन्दै हिजो सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



