बैंकर र व्यापारीबीच मन्त्रालयमै चर्काचर्की | ब्याजदर बैंकहरूले विस्तारै घटाउँदै लैजान्छन् : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोही पनि आवेगमा आएर समस्या नहुने, छलफलबाटै समाधान हुने र बैंक ब्याजदरको विषयमा ब्याजदर बैंकहरूले विस्तारै घटाउँदै लैजाउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै अर्थमन्त्री डा. खतिवडाले आज सोमवार बैंकर्स संघ, राष्ट्र बैंक र उद्योगी व्यापारीबीच छलफल गर्न बोलाइएको बैठकमा बैंकर र उद्योगी व्यवसायीबीच चर्काचर्की नै परेपछि त्यस्तो भनाइ राखेका हुन् ।
अर्थ मन्त्रालयमा भएको आजको बैठकमा बैंकहरूले ब्याजदर घटाउने कि नघटाउने भन्ने विषयमा बैंकर र उद्योगी व्यापारीबीच ठूलै चर्काचर्की भएको थियो । अर्थमन्त्री डा. खतिवडा, गभर्नर चिरञ्जीवी नेपालको उपस्थितिमा भएको उक्त छलफलमा बैंकरहरूले उद्योगी व्यापारीलाई स्वार्थका आधारमा ब्याजदर घटाउन दबाब दिँदै आएको आरोप लगाएपछि व्यापारीले त्यसको घोर विरोध गरेका थिए ।
स्थिति निकै तनावपूर्ण भएपछि भने अर्थसचिव राजन खनालले शान्त बनाएका थिए । त्यसपछि भएको छलफलमा ब्याजदर घटाउन सकिने ठाउँमा सोच्न सकिने बैंकर्स संघले बताएको छ ।
बैंकहरूले चर्काे ब्याजदर नघटाउँदा उद्योग व्यवसायमा समस्या परेको भन्दै आन्दोलनरत उद्योगी व्यापारीहरूले गएको शनिवार पनि प्रधानमन्त्रीसँग पनि चर्को ब्याजदरका विषयमा छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री ओलीले तत्कालै ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिँदै ब्याजदर नघटे सरकारले हस्तक्षेप गर्ने चेतावनीसमेत दिएका थिए ।
उद्योगी व्यापारीहरूले ब्याजदर घटाउन जति आन्दोलन गरे पनि बैंकहरू भने टसको मस भएका छैनन् । उनीहरूले अहिले ब्याजदर घटाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भइरहेको छ । उक्त बैठकपछि ब्याजदर घटाउने कि नघटाउने भन्ने ठोस निर्णय आउने बताइएको छ ।
Visited 3 times, 1 visit(s) today


