निशानले नयाँ गाडी किक्स नेपाली बजारमा | मूल्य रू. ४७ लाख र रू. ५९ लाख, नेपालीहरूले रुचाउने कम्पनीको दाबी

काठमाडौं । निशान मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले निशानको नयाँ गाडी किक्स नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले उक्त नयाँ गाडी हिजो आइतवार नेपाली बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले नेपाली बजारमा उक्त गाडीको मूल्य ईन्टी लेभलको रू. ४७ लाख ९९ हजार र टप लेभलको रू. ५९ लाख ९९ हजार तोकिएको बताएको छ ।
कम्पनीका अनुसार गाडीमा ८ इन्चको टचस्क्रिन जसलाई एण्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ । साथै, एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टार्ट गर्न साँचो नचाहिने स्मार्ट कार्ड, चालकका लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीएसहितको एबीएस समेटिएको छ ।
यो एसयूभी गाडी डिजेल इञ्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका तथा पेट्रोल इञ्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । त्यस्तै नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी सात कलरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
विक्री शुरू कार्यक्रममा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले भने, ‘विश्वस्तरीय नयाँ सवारीसाधनले नेपालीको अभिरुचि पूरा गर्नुका साथै यसबारे नेपालीहरूमा रहेको उत्सुकता पूरा गरेको छ । हामीलाई विश्वास छ, यो गाडीले नेपालीहरूको मन जित्नेछ ।’
नयाँ निशान किक्स गाडी पेट्रोल इञ्जिनमा १.५ एचफोरकेको ५ स्पीड म्यानुअल ट्रान्समिशन र डिजेल इञ्जिनमा १.५ के९के डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिशनमा उपलब्ध रहेको बताइएको छ । माइलेज क्षमता उत्तम मानिएको यस गाडीको पेट्रोल इञ्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इञ्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्न सक्ने एआरएआईले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।