दुई वर्षभित्र बागमतीलाई नुहाउनयोग्य बनाउन मन्त्री राईको निर्देशन |
काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बाग्मती सभ्यता एकीकृत विकास समितिलाई आगामी २ वर्षभित्र बागमती नदी नुहाउनयोग्य बनाउन निर्देशन दिएका छन् । उनले हिजो आइतबारको बैठकमा उक्त समितिलाई बोलाएरै २ वर्षको समय तोकेर कार्ययोजना ल्याउन निर्देशन दिए । उनले भने, ‘२ वर्षभित्र बागमतीमा नुहाउन सक्नुपर्छ, कहाँ कहाँ र कतिवटा ट्रिटमेन्ट प्लान्ट राख्ने हो, त्यसको योजना बनाउनुस, नत्र अब सहेर बस्न सकिन्न ।’
मन्त्री राईले तत्काल ठोस योजना बनाएर पेश नगरे समितिका पदाधिकारीहरुलाई कारबाही गर्ने चेतावनीसमेत दिए । उनले भने, ‘बागमतीको पानी पिउनयोग्न बनाउन समय लाग्ला तर नुहाउन योग्य बनाउने गरी कार्यायोजना ल्याउनुहोस्, मैले कहाँ गएर कुन मन्त्रालयसँग समन्वय गर्नुपर्छ, त्यो गर्न म तयार छु ।’
उनले आवश्यकता र प्राथमिकताका आधारमा बागमती आयोजनाको काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिए । बाग्मती लगायतका नदीको सफाईमा लामो समयदेखी अहोरात्र खटिएका अभियन्तासँग समन्वय गरेर आवश्यकताका आधारमा बजेटको कार्यक्रम तय गर्न ध्यानाकर्षण गराउँदै उनले बागमतीका नाममा कसैले पनि राजनीति गर्न नहुने बताए ।
सो अवसरमा शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिहंले सबै पक्षको समन्वयले बागमती सफाइ अभियानले ३ सय हप्ता पार गरेको भन्दै यसलाई मूर्तरुप दिन आफ्नो मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्ने बताए ।
Visited 1 times, 1 visit(s) today


