काठमाडौं मलका व्यापारीलाई २१ दिने अल्टिमेटम | कोषले गैरकानूनी ढंगले पसल हटाउन लागेको छ : व्यापारीहरू
काठमाडौं । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलमा लाखौं रुपैयाँ खर्चेर व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले अब उक्त मल छोड्नुपर्ने भएको छ । कोषले भवन खाली गर्न व्यवसायीलाई आज आइतवार २१ दिने अल्टिमेटम दिइसकेको छ ।
गुण्डा नाइके राजु गोरखाली समूहसँग कोषले ठेक्का सम्झौता तोडेपछि भवन खाली गर्न सूचना जारी गरेको हो । अब कोषले उक्त भवनलाई ‘कर्पोरेट हाउस’ बनाउन लागेको जानकारी दिएको छ । यसअघि माघ १३ गते एकमहिने सूचना जारी गरेकोमा व्यवसायीले नमानेपछि फेरि कोषले २१ दिने अल्टिमेटम दिएको छ । यो अवधिमा पनि पसल सञ्चालकहरूले अटेर गरे बल प्रयोग गर्ने कोषले बताएको छ । हाल उक्त मलमा झण्डै ३ सयवटा पसलहरू रहेका छन् ।
गुण्डा नाइके गोरखाली समूहले ठेक्कामा लिएर व्यापारीहरूलाई पसल सटर भाडामा लगाउँदै आएको थियो । मलमा पसल सञ्चालन गर्दै आएका व्यापारीहरू कोषले गैरकानूनी ढंगले पसल हटाउन लागेको भन्दै विरोध गर्दै आइरहेका छन् ।




