टीकापुर महोत्सवमा १ करोडको कारोबार, १ लाख ५० हजारले गरे अवलोकन |
कैलाली । ११ दिनसम्म चलेको कैलालीको टीकापुर महोत्सवमा १ करोड रुपैयाँबराबरको कारोबार भएको तथा २७ लाख ६३ हजारको टिकट विक्री भएको आयोजकले जानकारी दिएका छन् । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ नाराका साथ सञ्चालन भएको उक्त महोत्सव व्यवस्थापन उपसमितिका संयोजक गणेश रेग्मीले उक्त जानकारी दिएका हुन् ।
आयोजकका अनुसार २ सय स्टल रहेको उक्त महोत्सवमा १ लाख ५० हजार व्यक्तिले अवलोकन गरेका थिए । महोत्सवमा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न १० वटा स्टल निःशुल्क उपलब्ध गराइएको थियो । कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारू गाउँ र मगर गाउँ मुख्य आकर्षणको रूपमा रहेको सो महोत्सवमा विभिन्न खानाका परिकार झल्कने वस्तुहरू पनि राखिएका थिए ।
माघ १८ गतेदेखि शुरु भएको महोत्सव आज सम्पन्न हुनेछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गरेका थिए । उद्योग वाणिज्य संघ टीकापुरले २०६५ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ ।



