नेपाल इन्फ्राष्ट्रक्चर बैंकले सार्वजनिक गर्यो कार्ययोजना |
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सञ्चालन स्वीकृति पाएको नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले आफ्ना आगामी कार्ययोजना सार्वजनिक गरेको छ ।
उक्त अबसरमा बैंकको भावी योजना प्रस्तुत गरिएको थियो । बैंकले यातायात, कृषि, उर्जा, पर्यटन, विशेस आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधीलगायतमा लगानी गर्ने छ । बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधारमा लगानी गर्ने छ ।
सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको बैंकको मुख्य कार्यक्षेत्र अन्तर्गत राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने रहेको छ । साथै पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरीक र वाह्यस्रोत जुटाउने काम पनि कम्पनीले गर्ने छ ।
बैंकले सोमबार गभर्नर डा चिरञ्जिबी नेपालबाट सञ्चालन स्वीकृतिको प्रमाणपत्र लिएको छ । बैंकको ४० अर्ब रुपैयाँ अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्व चुक्ता पूँजी रहेको छ । कम्पनीले ८ अर्बको शेयर सर्बसाधारणमा जारी गर्ने छ ।




