व्यापार सहजीकरणका प्रयास , अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न | भन्सार जाँचपासको अवस्थामा नेपाल ८२ औं स्थानमा
काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ललितपुरको आयोजनामा व्यापार सहजीकरणः प्रयास अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । अन्तरक्रिया कार्यक्रममा एशियाली विकास बैंकको तर्फबाट नेपालको लागि व्यापार सहजीकरण विज्ञ एवं विश्व भन्सार संगठनबाट मान्यता प्राप्त व्यापार सहजीकरण विज्ञ श्याम प्रसाद दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै नेपाल सरकारका पूर्व वाणिज्य सचिव एवं वाणिज्य विज्ञ पुरुषोत्तम ओझा र नेपाल फ्रेट फरवार्डस एशोसिएशनका निवर्तमान अध्यक्ष राजन शर्माले कार्यपत्र प्रस्तुति उपर टिप्पणी गरेका थिए ।
कार्यपत्र प्रस्तुतगर्दै श्यामप्रसाद दाहालले व्यापार सहजीकरणको अवधारणा, प्रभाव, नेपालमा व्यापार सहजीकरणको अवस्था, यसका आयाम, कानूनी संरचना, व्यापार सहजीकरणमा देखिएका खाडल, सहज पारवहनका उपायहरु तथा व्यापार सहजीकरणका सन्दर्भमा देखा परेका चुनौती सम्वन्धमा विस्तृत ढंगले व्याख्या गरेका थिए । उनले अन्तरराष्ट्रिय व्यापारको प्रक्रियामा सरलीकरण र सामञ्जसीकरण गर्ने, अन्तरराष्ट्रिय व्यापारमा विक्रेता र क्रेता बीचमा मालवस्तु परिवहन गर्न र भुत्तानी गर्न आवश्यक प्रक्रिया र जानकारीहरुको सरलीकरण, स्तरीयकरण र सामञ्जसीकरण गर्नु तथा अन्तरराष्ट्रिय व्यापारमा मालवस्तुको परिवहनमा सामना गर्नु पर्ने बाधाहरु हटाउनु व्यापार सहजीकरणको प्रमुख उद्देश्य रहेको बताए ।
व्यवसाय गर्ने सहजता प्रतिवेदन २०१९ का अनुसार व्यवसाय गर्ने सहजतामा अन्तरराष्ट्रिय व्यापारमा भन्सार जाँचपासको अवस्थामा नेपालको स्थान १९० अर्थतन्त्रमध्ये ८२ मा रहेको छ । यसैगरी लजिस्टिक पर्फमेन्स इन्डेक्समा नेपालका भन्सारको स्थान १२२ रहेको छ । यसमा नेपालको भन्सारको अंक २.५१ रहेको छ । नेपालले आयात र निर्यात गर्दा सरदर १९ घण्टा लाग्ने गरेकोमा भन्सारमा मात्र सरदर २ घण्टा लाग्ने गरेको छ । ३० भन्दा वढी स्थानमा कागजातहरु पुग्नु पर्ने र हस्ताक्षर आवश्यक पर्ने गरेको छ । यस पृष्ठभूमिमा नेपालले विश्वव्यापार संगठनको व्यापार सहजीकरण सम्झौता र संशोधित क्योटो अभिसन्धि अनुरुप भन्सार ऐन संशोधन हुने क्रममा रहेको, आशिकुडा वल्र्ड र एकव्दार प्रणालीको कार्यान्वयन, पूर्वाधार सुधार, एकीकृत जांचपास केन्द्रको स्थापनागर्ने प्रक्रिया अगाडी बढिरहेको कुरा दाहालले जानकारी दिए ।



