ग्लोबल आईएमई बैंकको नयाँ योजना ‘प्रोफेशनल लोन’, बिनाधितो १५ लाख कर्जा |
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल आईएमई प्रोफेसनल कर्जा’ नामक कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले पेशागत व्यक्ति तथा कर्मचारीहरूलाई लक्षित गरी उक्त कर्जा योजना ल्याएको हो ।
विभिन्न पेशामा संम्बद्ध व्यक्तिहरू जस्तैः डाक्टर, इञ्जिनीयर, सीएलगायत अन्य कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी बैंकले सञ्चालनमा ल्याएको ‘प्रोफेशनल लोन’ अन्तर्गत सेवाग्राहीले बिनाधितो १५ लाखसम्म ऋण प्राप्त गर्न सक्नेछन् ।
सुलभ ब्याजदरमा उपलब्ध गराइने यस्तो कर्जाबाट विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरूलाई सहज तरिकाले बैंकिङ ऋणको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।
सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मका लागि प्रदान गरिने ‘प्रोफेशनल लोन’ सुविधाले आफ्नो पेशा व्यवसायको साथसाथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहने कर्मचारी वर्गलाई सघाउ पुर्याउनेछ । ‘प्रोफेशनल लोन’ सुविधा नेपालभरिका ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरुमार्पmत उपलब्ध हुने बैंकले बताएको छ ।
बैंकले ग्राहकको हित हुने यस्ता नयाँनयाँ सेवाहरू विभिन्न समयमा सञ्चालन गर्दै आइरहेको छ । कृषिमा आधुनिकीकरणका लागि कृषि कर्जादेखि साना तथा मझौला व्यवसायीलाई लक्षित गरी साना तथा मझौला व्यवसाय कर्जा, विद्यार्थीहरूका लागि एजुकेशनल लोन, होम लोनलगायतका कर्जा सुविधा प्रदान गर्दै आएको छ ।
साथै, बैंकले उच्चतम ब्याजदरको साथमा बीमा सुविधासहितको नवरत्न बचत खातालगायत अन्य बचत खाताहरूमार्फत पनि विभिन्न सुविधाहरू प्रदान गर्दै आएको छ ।



