समता माइक्रोफाइनान्सको नाफा १८० प्रतिशतले बढ्यो |
काठमाडौं । समता माइक्रोफाइनान्सले चालू आवको दोस्रो त्रैमासमा अधिकांश सूचकहरूमा सुधार गर्दै खुद नाफा ७२ लाख १७ हजार पुर्याएको छ । संस्थाले गत आवको सोही अवधिको तुलनामा १८०.२५ प्रतिशतले खुद नाफा बढाएको हो । संस्थाले गत आवको सो अवधिमा २५ लाख ७५ हजार खुद नाफा कमाएको थियो ।
संस्थाले खराब कर्जा अनुपातमा पनि सुधार गर्दै १.३२ बाट ०.६४ प्रतिशतमा झारेको छ । समीक्षा अवधिमा कम्पनीले निक्षेप संकलन र कर्जा परिचालन रकम दोब्बर बनाएको छ । पुस मसान्तसम्ममा लघुवित्तले ३६ करोड ७१ लाख निक्षेप संकलन र ५८ करोड ४१ लाख रुपैयाँ सापटी गरेर १ अर्ब २ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १ करोड ७३ लाख रुपैयाँबाट २ करोड ८३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तले यसअघि जारी गरेको ५० प्रतिशत हकप्रदपश्चात् कम्पनीको चुक्ता पूँजी ५ करोड ६८ लाख ६० हजार कायम भएको छ । कम्पनीको जगेडा कोष १ करोड ४२ लाखबाट वृद्धि भई ३ करोड ७८ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।
संस्थाको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५८ पैसाबाट बढेर २५ रुपैयाँ ३८ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ४७ पैसा रहेको यस लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.७८ गुणा बढी छ ।



