सुनलगायतका खनिज पदार्थको उत्खनन गर्न २४१ व्यक्ति तथा फर्मले पाए अनुमति |
काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा २ सय ४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उत्खनन गर्न अनुमति प्रदान गरेको हो ।
महाशाखाका प्रमुख रामप्रसाद घिमिरेका अनुसार उत्खननका लागि अनुमति पाउनेमा चुनढुङ्गा १४१, स्फटिक ३२, काँच बनाउन प्रयोग हुने ढुंगाको धुलो २३, फलाम चार, डोलोमाइट आठ, रुबी तीन, जिंक दुई, तामा तीन, ढुंगा तीन, कोइला तीन र सुन एक रहेका छन् ।
उनले खनिजका लागि महाशाखाले ५ सयभन्दा बढी स्थानमा अध्ययन गरे पनि जम्मा २४१ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएकोे जानकारी दिए । उनले भने, ‘सबै खोजतलास गरेका ठाउँमा खनिज हुन्छ भन्ने हुँदैन, खनिज पत्ता लागेको ठाउँमा मात्र उत्खनन गर्ने हो, नेपालमा उत्खनन गर्न लागेका खनिजमध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन भएको छ ।’
उत्खनन गरिएका खनिजलाई पनि अति महत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्ट्याइएको छ । अति महत्वपूर्णमा सुन, चाँदी, हिरालगायतका बहुमूल्य धातु पर्दछन् । महत्वपूर्णमा चुनढुंगा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवालगायत पर्दछन् । महाशाखाका अनुसार मुलुकमा उत्पादित काइनाइट, टुर्माइन र क्वार्जजस्ता खनिज पदार्थलाई मूल्य अभिवृद्धि र प्रविधिको अभावका कारणले गर्दा २ वर्षदेखि निर्यात गर्न सकिएको छैन ।



