एनआईसी एशियाको कम्प्युटर सहयोग विद्यालयलाई |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले काठमाडौंको एक विद्यालयलाई केही थान कम्प्युटर सहयोगस्वरुप प्रदान गरेको छ । बैंकले काठमाडौं जिल्ला शंखरापुर नगरपालिका– ६, साँखुस्थित श्री भाग्योदय माविलाई ती कम्प्युटरहरू प्रदान गरेको हो । बैंकका प्रमुख जनसम्पर्क अधिकृत अर्जुनराज खनियाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु केसी र प्रधानाध्यापक रुसण बसीलाई संयुक्त रूपमा ती कम्प्यूटरहरू हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको उपस्थिति रहेको थियो । विद्यालयलाई गरिएको यस्तो सहयोगले विद्यार्थीहरूको पठनपाठन तथा कम्प्युटर शिक्षामा सहयोग पुर्याउने प्रतिनिधीसभा राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले बताइन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले नेपालकै सर्वोत्कृष्ट उदाहरणीय बैंकिङ गरिरहेको एनआईसी एशिया बैंकले गरिरहेका सामाजिक उत्तरदायित्वका कामहरूको खुलेर प्रशांसा गरे ।
हाल बैंकले मुलुकभर फैलिएका २७५ वटा शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्स्टेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । वासलातको आकार रू. २१६ अर्बभन्दा बढी, कुल निक्षेप करिब रू. १७५ अर्ब पुगेको उक्त बैंकले कुलकर्जा लगानी करिब रू. १४९ अर्ब पुर्याउन सफल भएको छ ।
ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको उक्त बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ ।



