ʽभिभान्ता काठमाडौंʼ होटल संचालनमा आयो |
काठमाडौं । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल संचालनमा आएको छ । दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड’ (आईएचसीएल)ले ‘भिभान्ता काठमाडौं’ को व्यवस्थापन सम्हालेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिटीद्वारा सञ्चालित ‘मेघौली सेराई’ पछि आईएचसीएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो ।
सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, ʽकरिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं । ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ ।ʼ सुन्दर सजावट, आकर्षक कलाकृतिले भरिपूर्ण ‘भिभान्ता काठमाडौं’ मा ११० वटा कोठा छन् । होटलमा व्यायामशाला, स्विमिङपुल र स्पाको सुविधा पनि उपलब्ध छ ।
विशेषगरी एसियाली स्वादमा रमाउनेका लागि ‘अकारी’ जस्तो विख्यात विकल्प पनि उपलब्ध छ । रुफटप बारसँगै ‘कोको’ को ‘बिस्त्रो–स्टाइल’ र ‘मिन्ट’ को स्थानीय नेवारी स्वाद पनि भिभान्तामा पाइनेछ ।
एनई ग्रुपका प्रबन्ध निर्देशक रवीन्द्रभक्त श्रेष्ठले भने, ʽसंसारमा उपलब्ध उत्कृष्ट सेवाहरू भिभान्तामा पनि पाइनेछन् । पर्यटकलाई भिभान्ताको बसाई संझानायोग्य रहनेछ ।ʼ



