५ महिनामा ३ खर्ब ७६ अर्ब रेमिट्यान्स भित्रियो, ३१.९ प्रतिशतले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले बढेको छ । यस अवधिमा कुल ३ खर्ब ७६ अर्ब ५९ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३१.९ प्रतिशत बढी हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९.८ प्रतिशतले वृद्धि भई ४२८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४०.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.५ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटे पनि रेमिट्यान्स भने लगातार बढीरहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
विदेशी विनिमय सञ्चिति ११ खर्ब १७ अर्ब
राष्ट्र बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चितिमा ३.३ प्रतिशतले घटेर गत मंसिरसम्ममा १० खर्ब ६५ अर्ब ८० करोड रुपैयाँबराबर भएको छ । गएको असार मसान्तमा यस्तो सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड पुगेको थियो । अमेरिकी डलरमा हेर्दा विदेशी विनिमय सञ्चिति गत असारको दाँजोमा मंसिर अन्तिमभित्र ७.९ प्रतिशतले घटेर ९ अर्ब २९ करोड डलर भएको छ । असारमा १० अर्ब ८ करोड डलर सञ्चिति थियो ।
सरकारको बजेट ३७ अर्बले बचतमा
चालू आर्थिक वर्ष पहिलो पाँच महिनामा नगद प्रवाहमा आधारित सरकारको बजेट ३७ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो बचत ४ अर्ब ९३ करोड रुपैयाँमात्र थियो ।
सरकारी खर्च २ खर्ब ७३ अर्ब
पहिलो पाँच महिनामा नगद प्रवाहमा आधारित कूल सरकारी खर्च २ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा भने यस्तो खर्च २ खर्ब ५६ अर्ब ३० करोड रुपैयाँ थियो । समीक्षा अवधिमा चालू खर्च २ खर्ब २१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष २ खर्ब २२ अर्ब ६२ करोड रुपैयाँ थियो । यस अवधिमा ३४ अर्ब ४ करोड पुँजीगत खर्च भएको छ । अघिल्लो वर्ष २४ अर्ब ७९ करोड पुँजीगत खर्च भएको थियो ।
राजस्व संकलन ३ खर्ब ६ अर्ब
समीक्षा अवधिमा सरकारले ३ खर्ब ६ अर्ब ८७ करोड रुपैयाँबराबर राजस्व संकलन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको दाँजोमा २६.३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष राजस्व संकलन १७ प्रतिशतले बढेर २ खर्ब ४२ अर्ब ९७ करोड पुगेको थियो ।
सरकारको नगद मौज्दात १ खर्ब १९ अर्ब
चालू आर्थिक वर्ष २०७५⁄७६ मंसिर मसान्तसम्ममा सरकारी ढुकुटीमा १ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ नगद मौज्दात कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
वस्तु निर्यात ३७ अर्ब, आयात ६ खर्ब ७ अर्ब
चालू आर्थिक वर्ष २०७५–७६ को पहिलो पाँच महिनामा नेपालबाट ३७ अर्ब ५० करोड रुपैयाँबराबरका वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको दाँजोमा ११.२ प्रतिशतले बढेको हो ।
केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष १०.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा वस्तु निर्यात भारततर्फ २०.७, चीनतर्फ ३०.७ र अन्य मुलुकतर्फ ३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोसाक, पश्मिना, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, रोजिन, छाला, जुत्ता, चप्पल लगायत वस्तुको निर्यात घटेको छ ।
समीक्षा अवधिमा कूल वस्तु आयात भने ३४.२ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब रुपैयाँबराबर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा भने १८.२ प्रतिशतमात्र बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७, चीनबाट ४७.७ र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पाट्र्स, हवाईजहाज तथा पुर्जा, एमएस बिलेट, अन्य उपकरण तथा पुर्जा, तरकारी, फलफूल तथा चामल लगायत वस्तुको आयात बढेको छ भने दूरसञ्चार उपकरण तथा पुर्जा, कच्चा भटमास तेल, सिमेन्ट, स्वास्थ्य उपकरण तथा औजार लगायत वस्तुको आयात घटेको छ ।



