एनआईसी एशियाको छलाङː छ महिनामा १६४ प्रतिशतले नाफा बढ्यो |
काठमाडौं । एनआईसी एसिया बैंकको नाफा चालु आर्थिक बर्षको ६ महिनामा १६४ दशमलव ३३ प्रतिशतले वृद्धि गरी १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । जबकि अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५७ करोड २१ लाख रुपैयाँ कमाएको थियो ।
नियामकीय प्रणाली अनुसार समायोजन गर्दा लाभांश बाँड्न योग्य नाफा भने एक अर्ब २६ करोड रुपैयाँ हुन आउँछ । बैंकले ६ महिनाको अवधिमा निक्षेप संकलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढेको छ । बैंकले पुस सम्ममा एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको हो ।
बैंकको खुद व्याज आम्दानी १३३ प्रतिशतले बढेको छ । जसमा ब्याज आम्दानी ७४ प्रतिशतले बढेको छ भने ब्याज खर्च ५१ प्रतिशतले बढेको छ । बैंकले खुद व्याज आम्दानी तीन अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । प्रतिशेयर आम्दानी एक वर्षको अवधिमा १४ रुपैयाँबाट ३४ रुपैयाँ पुगेको छ ।
बैंकको कष्ट अफ फण्ड, पूँजी कोष अनुपात र आधार व्याज दर घटेको छ । बैंकको स्प्रेडदर भने गत वर्ष भन्दा केही बढेर ४.९८ प्रतिशत पुगेको छ । आधार व्याजदर भने १०.७४ प्रतिशतबाट ९.३३ प्रतिशतमा झरेको छ । पूँजी वृद्धि योजनापछि शाखा विस्तारसँगै सेवा पनि एग्रेसिभ रुपमा अघि बढाएको छ । एनआईसी एसिया बैंकको सिडी रेसियो ७८.७१ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा ०.३३ प्रतिशत रहेको छ ।
एनआईसी एसिया बैंकको प्रति शेयर आम्दानी ३४ दशमलव ३१ रुपैयाँ रहेको छ । बैंकको प्रति शेयर नेटवर्थ १४९ दशमलप ९३ रुपैयाँ र तरलता अनुपात २० दशमलव ८१ प्रतिशत छ । मूल्य आम्दानी अनुपात ११ दशमलव २५ र कूल सम्पतिमा प्रतिफल १ रुपैयाँ ४१ पैसा रहेको छ ।



