वासुदेव कोइराला मुनाल मेमोरियल फाउन्डेसनद्वारा सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न |
काठमाडौं । लोकप्रिय गायक तथा वरिष्ठ रेडियोकर्मी स्वर्गीय वासुदेव मुनालको नामबाट स्थापना भएको ʽवासुदेव कोइराला मुनाल मेमोरियल फाउन्डेसनʼ ले गरिब तथा असहायका लागि विभिन्न राहत सामग्री वितरण गरेको छ ।
गायक मुनालको स्मृतिमा गठन भएको यो फाउन्डेसनले उदयपुरको चौदन्डिगढी नगरपालिका–१ स्थित शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रम गर्दै सो क्षेत्रका विद्यार्थी, गरिब तथा असहायका साथैज्येष्ठ नागरिक गरेर करिब एक सय व्यक्तिलाई ब्ल्याङ्केट, ज्याकेट तथा खाद्य सामग्री वितरण गरेको हो ।

फाउन्डेसनका अध्यक्ष तथा मध्यपश्चिमाञ्जल विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्र कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नम्बर–१ का सभासद् बिमल कार्की, चौदन्डिगढी वडा–१ का अध्यक्ष रोहित तामाङ, शारदा माविका प्रधानाध्यापक तारा नाथ कटवाल लगायतको उपस्थिति थियो ।
स्व.वासुदेव मुनालको जन्मस्थान साथै उनले अध्यायन गरेको विद्यालय भएकोले फाउन्डेसनले शारदा माविबाट कार्यक्रम सुरुवात गरेको अध्यक्ष कोइरालाले बताए ।

नेपाली कला संस्कृतिको उत्थानका लागि जीवनभर लागि परेका स्व. मुनालको नामबाट गठित फाउन्डेसनले आगामी दिनमा पनि अन्य थुप्रै सामाजिक काम गर्ने कार्यक्रममा जानकारी गराइयो ।



