राजस्व जम्मा हुने बैंकका शाखा शनिवार पनि खुला गर : राष्ट्र बैंक |
काठमाडौं । वित्तीय संस्थाहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले राजस्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर शनिबार पनि सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले शनिबार राजस्व बुझ्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमित रूपमा राजस्व संकलन गर्न आग्रह गरेको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार अर्थ मन्त्रालयलको निर्देशनअनुसार वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थालाई राष्ट्र बैंकले त्यस्तो आग्रह गरेको हो ।
चालू आर्थिक वर्षको छ महीनाको राजस्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ । यस्तै, राजस्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई त्यस्तो निर्देशन दिएको हो ।



