नेपाल बैंकको अध्यक्षमा अधिकारी |
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् । उनलाई बैंकको सञ्चालक समितिको हिजो बुधवार बसेको बैठकले सो पदमा चयन गरेको हो । भर्खरै राष्ट्र बैंकबाट अवकाश पाएका अधिकारीलाई अर्थ मन्त्रालयले उक्त बैंकमा पठाएको हो ।
अधिकारीलाई गभर्नर डा. चिरञ्जिवी नेपालले आज बिहीवार पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम रहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक रहेका अधिकारी त्यसपछि केही समय विदेशी विनिमय विभागमा पनि काम गरे । कार्यकारी निर्देशकमा बढुवा भएपछि उनले आन्तरिक लेखा परीक्षण र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको नेतृत्वसमेत गरे ।
राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरेको अनुभव सँगालेका अधिकारी प्रधान सहायकबाट राष्ट्र बैंकमा छिरेका थिए । वर्तमान अध्यक्ष जनाद्र्धन आचार्यको कार्यकाल सकिएपछि अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट नेपाल बैंकको सञ्चालक समितिमा पठाइएको हो ।
अधिकारी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको क्षमता अभिवृद्धिजस्ता तालीममा सहभागी हुँदै आएका थिए ।



