महालक्ष्मी विकास बैंकले गर्यो भैरहवा, चितवन र अछामका बिद्यार्थीलाई सहयोग |
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । बैंकको भैरहवा शाखाले सिद्धार्थनगर, रुपन्देहीस्थित बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि २ थान कम्प्युटर दिएको जानकारी दिएको छ । साथै विद्यार्थीहरुलाई २ सय थान ऊनीको टोपी तथा एउटा वाटर डिस्पेन्सर सहयोग गरेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
यसैगरी बैंकको खुरखुरे शाखाले राप्ती नगरपालिका १०, चितवनस्थित राष्ट्रिय आधारभुत विद्यालयका कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि १ सय ५ थान ऊनीे स्वेटर बितरण गरेको छ ।
आर्थिक स्थिति निकै नै कमजोर भएका चेपाङ्ग विद्यार्थीहरुको बाहुल्यता रहेको सो विद्यालयका विद्यार्थीहरुको जाडोयाममा पठनपाठन सहज बनाउन सहयोग गरेको बिज्ञप्तीमा जनाइएको छ ।
बैंकका अनुसार मंगलसेन शाखाले अछाम बहुमुखी क्याम्पस मंगलसेनमा अध्ययनरत ११ जना विद्यार्थीलाई कुल ३३ हजार रुपैयाँ छात्रवृत्रिस्वरुप बाँडेको छ ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।




