अबदेखि दुई पटक गरेर मात्र संस्थापक शेयर ५१ प्रतिशतमा झार्न पाइने |
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको स्वामित्व रहेको बैंक तथा वित्तीय संस्थालाई सीमाभन्दा माथिको शेयर दुई पटक गरेर मात्र सर्वसाधारण शेयरमा परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ । बैंकले निर्देशन जारी गर्दै बजारमा साधारण शेयरको मात्रा बढी नहोस् भनेर कम्तीमा दुई पटक गरेर संस्थापक शेयर ५१ प्रतिशतमा झार्न सकिने व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्था स्थापना भएको १० वर्ष पूरा गरेको हकमा धितोपत्र विनिमय बजार लिमिटेडमार्फत खरिद विक्री गर्ने प्रयोजनका लागि संस्थापकको शेयर लगानी अनुपात समानुपातिक रूपमा बढी हुने शेयर सर्वसाधारणमा परिणत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।कुनै संस्थापक समूहले अर्को समूहमा परिणत गर्न नचाहेको भनी स्वघोषणा विवरण प्राप्त भएको अवस्थामा भने बाँकी रहेका सदस्यले संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशतभन्दा कम नहुने गरी उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । एकपटक सर्वसाधारण शेयरमा परिणत गरेको शेयर पुनःसंस्थापक समूहको शेयरमा परिणत गर्न नपाइने व्यवस्थासमेत गरिएको छ ।
संस्थापक समूहमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गरी विक्री गर्ने व्यक्ति वा संस्था कालो सूचीमा रहेको भए निजको शेयर बैंक वा वित्तीय संस्थाको कर्जा चुक्ता गर्ने प्रयोजनका लागि मात्र विक्री गर्न पाइने व्यवस्था गरिएको छ । संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने कार्य पूँजीबजार बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई समेत ख्याल गरी बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न र त्यस्तो कार्य कम्तीमा दुईपटक मात्रै गर्नसमेत भनिएको छ ।
नेपाल राष्ट्र बैंकले कार्यक्षेत्र विस्तार तथा बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिने विषयमा समेत निर्देशन जारी गरेको बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिए ।
Visited 1 times, 1 visit(s) today


