महालक्ष्मी लाइफ इन्स्योरेन्सले माघबाट कारोबार शुरू गर्दै | प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त
काठमाडौं । पूँजी जुटाउन नसकेर लाइसेन्स पाउनबाट छुटेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले अन्ततः कारोबार सञ्चालनका लागि स्वीकृति दिएको छ । कम्पनीले स्वीकृति पाएसँगै अब माघबाटै आफ्नो कारोबार शुरू गर्ने जानकारी दिएको छ । कम्पनीले यसअघि विभिन्न पदका लागि कर्मचारी माग गरेको थियो ।
यसअघि पूँजी नपुर्याएको भन्दै कम्पनीलाई अर्थ मन्त्रालयले लाइसेन्स रोकेको थियो । सर्वोच्चले बाटो खोलिदिएपछि महालक्ष्मीले सञ्चालन स्वीकृति पाएको हो । कम्पनीले सञ्चालन स्वीकृति पाएपछि प्रमुख कार्यकारी अधिकृतसमेत नियुक्त गरेको छ । पुस १७ गतेबाट लागू हुने गरी कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराईलाई नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।
भट्टराई वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक छन् । उनले बीमा तथा बैकिङ क्षेत्रमा ३५ वर्ष लामो अनुभव सँगालेका छन् । उनले यसअघि महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर कार्य गरिसकेका छन् ।




