अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध हुन्छ : प्रम ओली |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताएका छन् । उनले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै यो नयाँ वर्षमा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने दाबी गरेका छन् ।
प्रम ओलीले आफ्नो शुभकामना सन्देश दिँदै भनेका छन, ‘निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने संकल्प गरेको छु । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’
प्रम ओलीले सन् २०१८ संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्यको वर्ष भएको बताए । उनले सन् २०१८ लाई राजनीतिक उपलब्धिको वर्ष पनि भनेका छन् ।
‘जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्षमा राजनीतिक सङ्क्रमणकालको अन्त्य भयो,’ प्रम ओलीले सन्देशमा भनेका छन, ‘सङ्क्रमणकालीन संशयहरूलाई चिर्दै समृद्ध नेपाल–सुखी नेपालीको संकल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौं । राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो ।’
Visited 1 times, 1 visit(s) today


