सरकारले बढायो ट्याक्सीको भाडा | अबदेखि एक किलोमिटरको ५३ रुपैयाँ भाडा
काठमाडौं । गत असोजमा सार्वजनिक बसमा भाडा बढेलगत्तै सरकारले काठमाडौं उपत्यकामा चल्ने मिटरवाला ट्याक्सीको भाडा पनि बढाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाइएको बताएको हो । यसअघि एक किलोमिटर गुडेपछि ५० रुपैयाँ मिटरमा उठ्ने गथ्र्यो भने अब नयाँ भाडा समायोजनपछि एक किलोमिटरमा ५३ रुपैयाँ उठ्छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘हालसम्म २ हजार २ सय ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको छ । विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ ।’ उनका अनुसार मिटर र प्रिण्टर मेशिन ठीक छ वा छैन, हेरेर मात्र मिटरमा भाडा समायोजनको काम अगाडि बढाइएको छ ।
उपत्यकामा गुड्ने सबै ट्याक्सीमा विभागले यसअघि नै प्रिण्टर मेशिनसमेत जडान गरिसकेको छ ।
विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिरको पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।
नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने बताए । उनले भने, ‘समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा संघले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ ।’
यसअघि ट्याक्सीचालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गर्दै आएका थिए ।
उनीहरूले बारम्बार ट्याक्सी चालकमाथि सांघातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जन गरी वैज्ञानिक रूपमा भाडादर कायम गर्न माग गर्दै आएका थिए ।
हाल काठमाडौं उपत्यकामा मात्र १० हजार ६ सय मिटर ट्याक्सी सञ्चालनमा छन् ।
Visited 2 times, 1 visit(s) today


