नेशनल माइक्रोफाइनान्सको नयाँ शाखा सिरहाको भगवानपुरमा |
काठमाडौं । धादिङ जिल्लाको धादिङ बेंसीमा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हालै सिरहा जिल्लामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–१ भगवानपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको प्रदेश नम्बर २ का अर्थमन्त्री विजयकुमार यादव, नेशनल माइक्रो फाइनान्सको सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य, पूर्वमन्त्री राजलाल यादव, सोही गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादव र संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सो गाउँपालिकाका उपाध्यक्ष श्रीमती सीतादेवी यादव, संस्थाका सञ्चालन विभाग प्रमुख सीताराम पण्डित, वडाध्यक्षहरू, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, अभिभावक, ग्राहक सदस्यलगायतको उपस्थिति रहेको थियो ।
संस्थाले हालसम्म हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरूमार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सातैवटा प्रदेशमा पहुँच पुर्याइसकेको उक्त संस्थाले ३७ वटा जिल्लाका ६६ हजारभन्दा वढी विपन्न परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको छ । संस्थाले हालसम्म कर्जा प्रवाह २ अर्ब ६३ करोड र बचत रू. ८४ करोडभन्दा वढी संकलन गर्न सफल भएको छ ।




