सिटिजन्स बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालय वीरगञ्जमा खुल्यो |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं २ को प्रादेशिक कार्यालय वीरगञ्जको आदर्शनगरमा स्थापना गरेको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले पुस १५ गते आइतबार उक्त शाखा सञ्चालनमा ल्याइएको बताए ।
प्रदेश नं २ अन्तर्गत बैंकका ८ वटा शाखाहरु (वीरगञ्ज, औरही, बर्दिवास, गौशाला, जनकपुर, निजगढ, पथलैया तथा कोल्हवीं) बाट व्यापार विस्तारका साथ साथै शाखाहरु सँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यसअघि बैंकले पुस १३ गते विराटनगरमा प्रदेश नं १ को प्रादेशिक कार्यालय स्थापना गरेको थियो । देश संघीयतामा गएसँगै वाणिज्य बैंकहरुपनि प्रादेशिक संरचनामा जान थालेका हुन् ।
ʽयोर पार्टनर फोर प्रोग्रेसʼ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु बाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ऋाफ्ना ग्राहकलार्ई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।



