नागढुंगा सुरुङमार्ग निर्माणका लागि ६ विदेशी कम्पनीले देखाए इच्छा |
काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माणका लागि ६ विदेशी निर्माण कम्पनीले इच्छा देखाएका छन् । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने उक्त सुरुङमार्गको निर्माणका लागि सडक विभागले ग्लोबल टेण्डर गरेकोमा चिनियाँसहित जापानी कम्पनीहरूले इच्छा देखाएको सडक विभागले बताएको छ ।
टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा सुरुङमार्ग निर्माणको काम थाल्न ढिलाइ भएको छ । अहिले ठेक्कामा सहभागी कम्पनीहरूको प्राविधिक प्रस्तावको मूल्यांकन भइरहेको विभागको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख केशवकुमार शर्माले जानकारी दिए ।प्राविधिक मूल्यांकनबाट ‘सर्ट लिस्टेड’ भएका कम्पनीको आर्थिक प्रस्ताव खोलिने र सबैभन्दा कम रकम बोलकबोल गर्ने कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउनेछ ।
सम्झौताका लागि दातृ निकाय जापानी सहयोग नियोग (जाइका) को स्वीकृति आवश्यक पर्छ । आगामी वैशाखसम्म छनोट हुने कम्पनीले सुरुङमार्ग निर्माणका लागि फिल्डमा पुगेर काम शुरू गर्ने अपेक्षा गरिएको शर्माले बताए ।
जापान सरकारले गरेको डिजाइन गरेको उक्त सुरङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सुरुङमार्गका लागि जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि १५ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने सम्झौतासमेत भइसकेको छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा पनि यो आयोजनाको निर्माण कार्य थाल्ने उल्लेख गरेको छ । नौबिसेदेखि थानकोटसम्मको सडक घुमाउरो र उकालो ओरालो भएका कारण उक्त क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्यूनीकरणका लागि सरकारले यो आयोजना अघि सारेको हो । सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विश्वास गरिएको छ ।
यो सुरुङमार्गको निर्माणपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको इन्धन पनि बचत हुन्छ । यात्रुको समयसँगै सवारी साधनको इन्धन पनि बचत हुने भएका कारण यसबाट देशलाई आर्थिक लाभ हुने दाबी सडक विभागको छ ।



