कर छुट र बक्यौता फर्छ्यौटबारे उद्योगी–व्यवसायीलाई अभिमुखीकरण
विराटनगर । आर्थिक विधेयक २०८३ ले उद्योग तथा व्यवसाय क्षेत्रका लागि व्यवस्था गरेका कर छुट, सहुलियत र पुराना बक्यौता फर्छ्यौटसम्बन्धी प्रावधानबारे विराटनगरमा छलफल गरिएको छ ।
राष्ट्रिय कर दिवस २०८३ को अवसर पारेर मोरङ उद्योग व्यापार संघले आन्तरिक राजस्व कार्यालय विराटनगर र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको सहजीकरणमा बुधबार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा आर्थिक विधेयकले समेटेका करसम्बन्धी व्यवस्था, कर प्रणालीका जटिलता, करदाताले भोग्नुपरेका समस्या र पुराना कर दायित्व व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
संघका अध्यक्ष अनिल शाहले पछिल्लो समय उद्योगी–व्यवसायी र कर प्रशासनबीचको सम्बन्ध सुधार हुँदै गएको बताए । व्यवसायीका समस्या तथा गुनासालाई सम्बोधन गर्ने वातावरण बन्दै गएको उल्लेख गर्दै उनले कर प्रशासन र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कर अधिकृत जिवराज निरौलाले नेपालको वर्तमान कर प्रणालीका चुनौती, कर भुक्तानी प्रक्रियामा बिचौलियाको भूमिका तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणका विषयमा प्रस्तुति दिएका थिए । उनले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई दिएका सुझाव र तिनको कार्यान्वयनसँग जोडिएका विषयमा समेत जानकारी गराएका थिए ।
त्यस्तै, चार्टर्ड एकाउन्टेन्ट युवराज उप्रेतीले नेपालमा प्रचलित वित्तीय प्रतिवेदनसम्बन्धी मापदण्ड (एनएफआरएस) का विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए । उनले वित्तीय विवरण तयार गर्दा अपनाउनुपर्ने मापदण्ड र त्यसको व्यावहारिक प्रयोगका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीले कर छुट, पुराना बक्यौता फर्छ्यौट, कर भुक्तानी प्रक्रिया र करसम्बन्धी अन्य व्यवस्थाबारे जिज्ञासा राखेका थिए । उनीहरूले आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशव उप्रेतीलगायतसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना समस्या र प्रश्न राखेका थिए ।
कार्यक्रमले करसम्बन्धी नीतिगत व्यवस्था र त्यसको व्यावहारिक कार्यान्वयनबारे उद्योगी–व्यवसायीलाई जानकारी गराउनुका साथै करदाता र कर प्रशासनबीचको संवादलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।




