ब्याजदरको प्रतिस्पर्धामा उत्रिसकेका वाणिज्य बैंकहरू रोकिए | उच्चस्तरीय समितिको प्रतिवेदन आएपछि आवश्यक निर्णय हुन्छ : राष्ट्र बैंक
काठमाडौं । ब्याजदरको प्रतिस्पर्धामा उत्रिसकेका वाणिज्य बैंकहरू अब रोकिएका छन् । सार्वजनिक रूपमा सूचना प्रकाशित गरेरै १३.५ प्रतिशतभन्दा बढी ब्याज दिने गरी मिक्षेप योजना ल्याउने तयारीमा पुगिसकेका बैंकहरू नियामक निकायका अधिकारी र निजी क्षेत्रबाट समेत वित्त बजारमै असर पार्ने गरी ब्याजदर बढाइएको भनेर आपत्ति जनाइएपछि अहिलेलाई ब्याजदर बढाउने योजना टरेको हो ।
वित्त बजारमा असर पार्ने गरी बैंकहरूले ब्याज बढाउन थालेको भन्दै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले समेत असन्तुष्टि जनाएको थियो । केही बैंकले निक्षेपमा १३.५ बढी व्याज दिने योजना ल्याउने तयारीसमेत गरेका थिए तर, तत्कालका लागि यो टरेको बैंकर्स संघका एक सदस्यले बताए । संघले ब्याजदर निर्धारण गर्न बैंकहरूलाई स्वतन्त्रता प्रदान गर्ने निर्णय गरेलगत्तै बैंकहरूले धमाधम ब्याजदर बढाएर निक्षेप संकलन गर्न थालिसकेका थिए । बैंकमा लगानीयोग्य रकमको अभाव भएका कारण उनीहरूले ब्याजदर बढाएका हुन् । पछिल्लो समयमा केही बैंकले निक्षेपको ब्याजदर बढाएर १४ प्रतिशतसम्म पुर्याइसकेका थिए ।
बैंकहरूले निक्षेपको ब्याजदर बढाउँदा कर्जाको पनि स्वतः बढ्न जान्छ । १३ प्रतिशतमा निक्षेप लिएका बैंकले त्यसमा स्प्रेड दर जोडेर १७ प्रतिशतसम्ममा कर्जा लगानी गर्न पाउँछन् ।
यसरी ब्याजदर बढ्दा कर्जा लिएर उद्यम गर्ने उद्योगी तथा व्यावसायीहरूलाई ठूलो मर्का पर्न जान्छ । त्यस कारणले पनि हालै मात्र नेपाल उद्योग वाणिज्य संघले मुद्दतीमा ब्याजदर धेरै पुर्याएको भन्दै विज्ञप्ति नै जार िगरेर आपत्ति जनाएको थियो । अर्थ मन्त्रालयले मुद्रा बजार र पूँजी बजारको सुधारका लागि भन्दै उच्चस्तरीय समिति गठन गरेको छ । समितिको प्रतिवेदन आएपछि आवश्यक निर्णय हुने राष्ट्र बैंकको भनाइ छ ।
Visited 2 times, 1 visit(s) today


