रत्नपार्कमा १५औं काग सम्मेलन, ३ सयभन्दा बढी सहभागी |
काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघले आयोजनामा आज रत्नपार्कमा ३ सयभन्दा बढी काग बोलाई १५औं काग सम्मेलनको आयोजना गरियो । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारमा आज काग सम्मेलन गरिएको हो ।
सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी काग सम्मेलन गरेका छन् । उनले रत्नपार्कमा करीब ३ सयभन्दा बढी काग बोलाएर काग सम्मेलन गरे । उनले विगत १४ वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् ।
‘मैले संविधान नबन्दा काग बोलाएर नयाँ बानेश्वरस्थित संसद् भवन र अन्तरराष्ट्रिय विमानस्थल घेराउ गरेको छु, भारतले नेपालमा नाकाबन्दी गर्दा मैले भारतीय राजदूतावासको ढोका अगाडि काग बोलाएर विरोध गरेको छु’, दुलालले भने ।
उनले कागबाहेक मुखैले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैंसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै निकाल्ने खूबी उनमा छ । यमपञ्चकको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । आजको दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ ।



