तुलाधरको अन्त्येष्टि आज गरिँदै, आज दिउँसो १ बजे शवयात्रा |
काठमाडौं । वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको आज अन्त्येष्टि गरिने भएको छ । काठमाडौंको लाजिम्पाटस्थित निवासबाट दिउँसो १ बजे शवयात्रा निकालिने र त्यसपछि शोभाभगवतीमा बौद्ध परम्पराअनुसार अन्येष्टि गरिने उनका आफन्तले बताएका छन् ।
मष्तिष्कघात र मृगौलाको समस्याबाट ग्रसित ७८ वर्षीय तुलाधरको आइतवार उपचारकै क्रममा निधन भएको हो । पञ्चायतकालमा वामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्थाविरुद्धमा आवाज उठाएका तुलाधर मानवअधिकार अन्दोलनका क्षेत्रमा समेत चर्चित नेता थिए ।
उनी पछिल्लो पटक २०५१ सालको आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । उनी २०६२÷६३ को शान्ति प्रक्रियाका एक जना सहजकर्ता तथा २०४६ सालमा कांग्रेस र तत्कालीन वाममोर्चालाई एक ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिसमेत हुन् ।
नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेका तुलाधर २०४२ मा नेकपा (माले) को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुगेका थिए ।
नेकपा एमालेबाट २०४८ र २०५१ मा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्रीसमेत भएका थिए । उनको मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको छ । तुलाधरका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् ।



