आर्थिक अनियमितताका धेरै उजुरी स्थानीय तहमा परेको छ : प्रमुख आयुक्त |
कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताएका छन् । उनले सङ्क्रमणकालीन समयका नाममा कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको स्पष्ट पार्दै भ्रष्टाचार नियन्त्रण कार्यमा आयोग सक्रियताका साथ लागेको स्पष्ट पारे । उनले आयोगको पोखरा कार्यालय भवनको शिलान्यास गर्दै त्यस्तो भनाइ राखेका हुन् ।
सो अवसरमा प्रमुख आयुक्त घिमिरेले जनताले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राखे । अहिले कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भए÷नभएको, कानूनको पालना भए÷नभएको जस्ता विषयमा अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक छ ।’ पोखरामा निर्माणाधीन कार्यालय भवनले यहाँबाट हुने आयोगको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुर्याउने उनको भनाइ छ । आयोगका सचिव महेश्वर न्यौपानेले संघीय संरचनाअनुरुप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए ।
न्यौपानेले मुलुकको उन्नतिमा भ्रष्टाचार प्रमुख बाधक भएको उल्लेख गर्दै आयोगको कामको प्रभावकारिताका लागि जनशक्तिलाई तालीम प्रदान गरिएको बताए ।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले तीनै तहको सरकार गठन भइसकेको र विकास निर्माणलगायतका काममा सरकार लागिसकेको वर्तमान अवस्थामा सुशासनका लागि आयोगको निगरानी आवश्यक रहेको बताए ।
आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले नवनिर्मित भवन कूल रू. १४ करोड ७२ लाख ३६ हजार ५७३ लागतमा ठेक्का सम्झौता भई काम अघि बढिसकेको जानकारी दिए ।
Visited 1 times, 1 visit(s) today


