दशैंमा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न ढुवानी भएन |
डोटी । नेपाल खाद्य संस्थानले नेपालीको महान् चाड दशैं नजिकिए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न ढुवानी गर्न सकेको छैन । संस्थानले टेण्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा ती क्षेत्रमा चामल ढुवानी गर्न ढिलाइ भएको नेपाल खाद्य संस्थान धनगढीले बताएको छ ।
सो कार्यालयले हालसम्म अछाममा ५ सय ६१ क्विन्टल, बाजुरामा ५ सय र दार्चुलाको खण्डेश्वरीमा २ सय क्विन्टल चामल पठाउनबाहेक अन्य जिल्लामा पठाउन नसकेको जानकारी दिएको छ । बाँकी स्थानमा दशैंअगाडि नै चामल पठाउने प्रयास भइरहेको संस्थानका प्रमुख प्रेमनारायण भण्डारीले बताए । उनले भने, ‘हामीले चामल पठाउन नसके पनि समस्या भएको छैन, सकेसम्म दशैंअगाडि नै आवश्यक चामल ढुवानी गर्ने प्रयास गरिरहेका छौं ।’
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी गरिबी रहेको बाजुराको मार्तडीका लागि वार्षिक ७ हजार, कोल्टी डिपोका लागि १० हजार, दार्चुलाको खण्डेश्वरीका लागि ३ हजार, सुनसेरा र पारिबगरका लागि दुई÷दुई हजार क्विन्टल चामलको कोटा रहेको छ । संस्थानको चामल अपुगेका अन्य स्थानहरूमा अछामको विनायक र कमल बजार, बैतडीको पुलाउ, पुर्चौडी र मेलौली, बझाङको सदरमुकाम चैनपुर, बिसौना, तल्कोट, काँडामा समेत संस्थानको चामल गएको छैन ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वार्षिक ४० देखि ४५ हजार क्विन्टल चामल खपत हुने गरेको संस्थानले जनाएको छ । डडेल्धुरा डिपोमा समेत मागअनुसार चामल ढुवानी नहुँदा आपूर्तिमा कठिनाइ भइरहेको छ ।
Visited 1 times, 1 visit(s) today


