नेपाल टेलिकमको दशैं योजना : अनलिमिटेड भ्वाइस र एसएमएसको सुविधा, डाटामा पनि सुविधै सुविधा |
काठमाडौं । नेपाल टेलिकमले बडादशैंलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि छुटको अफर सार्वजनिक गरेको छ । कम्पनीले अनलिमिटेड प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपलब्ध गराएको बताएको हो ।
उक्त योजनाअनुसार ६ सय रुपैयाँमा १५ दिनका लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनका अनुसार सो प्याकअन्तर्गत १ जीबी पिक आवर (बिहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफ–पिक आवर (राती १० देखि बिहान ६ बजेसम्म) प्रयोग गर्न सकिनेछ ।
सोही प्याकअन्तर्गत ७ दिन समयावधिका लागि ३ सय रुपैयाँमा मात्रै पनि टेलिकमले उपलब्ध छ । यो योजनामा सहभागी हुने ग्राहकलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिससमेत निःशुल्क उपलब्ध छ । त्यस्तै, भ्वाइस प्याकअन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपलब्ध गराइएको छ । एक दिनका लागि मात्र उपलब्ध हुने यो सुविधा विहान ६ देखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने टेलिकमले बताएको छ । यस्तो भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ ।
टेलिकमका अनुसार डाटा प्याक अन्तर्गत ६ रुपैयाँमा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्ने गरी ३६ एमबी डाटा एक दिनका लागि उपलब्ध गराएको छ । यी सबै योजना आजदेखि कात्तिक ७ गतेसम्म खरिद गर्न सकिनेछ । आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म एक सय र दुई सय रुपैयाँ रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जमार्फत रिचार्ज गर्दा १० प्रतिशत र ५ सय र १ हजार रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस पाउने टेलिकमले बताएको छ । त्यस्तो बोनस पाँच दिनभित्र उपयोग गरिसक्नुपर्ने टेलिकमले जानकारी दिएको छ ।
त्यसैगरी, एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस ५ दिनभित्रै उपभोग गरिसक्नुपर्ने गरी उपलब्ध गराएको छ ।त्यस्तै, असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल, एफटीटीएच, वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरूको समयावधि कात्तिक ७ गतेसम्म थप गरिनेछ ।
Visited 1 times, 1 visit(s) today


