सहकारीबाट सवा ४ करोड ठगी गरी घर किन्ने महर्जन पक्राउ | कैद भुक्तानका लागि हिजै केन्द्रीय कारागार पठाइयो
काठमाडौं । सहकारी संस्थाको सवा ४ करोड रुपैयाँ घोटाला गरी काठमाडौंमा घर किन्ने एक सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् । साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका तत्कालीन सञ्चालक समिति सदस्य अजय महर्जनलाई उक्त आरोपमा गत सोमवार ताहाचलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको सीआईबीका प्रहरी नायव उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिएका हुन् ।
उनले आकर्षक ब्याज र उपहारको झुटो प्रलोभन देखाई विभिन्न मितिमा निक्षेपकर्ताहरूबाट ४ करोड १७ लाख ५८ हजार ७ सय रुपैयाँ संकलन गरी उक्त रकमले आफ्नो नाउँमा घरजग्गा खरिद गरी, निक्षेपकर्ताको सावाँ र सोको ब्याजसमेत फिर्ता नगरी ठगी गरेका थिए ।
काठमाडौं महानगरपालिका– १३ ताहाचल बस्ने महर्जनलाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७२ वैशाख १७ गते ४० लाख ७८ हजार ८ सय ८१ रुपैयाँ जरिवाना र २ वर्ष ८ महिना जेल सजाय तोकेको थियो । अदालतको उक्त फैसलापछि उनी बेपत्ता भएका थिए ।
भट्टका अनुसार सीआइबीले फैसला कार्यान्वयनका लागि हिजो मंगलवार जिल्ला अदालतमा पेश गरिएको छ । पक्राउ परेका महर्जनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ । ठगीमा संलग्न रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठसमेत दुई जनालाई गत साउन १० गते पक्राउ गरिएको थियो ।
Visited 1 times, 1 visit(s) today


