वैदेशिक रोजगारीबारे कुनै गुनासो छ ? कल सेन्टरमा फोन गर्नुस् |

काठमाडौं । कतै तपाईं विदेशमा समस्यामा त पर्नु भएको छैन ? यदि विदेशमा दुःख र यातना वा अरु कुनै समस्यामा पर्नुभएको छ भने अब चिन्ता नगर्नुस् । सीधै नेपालको श्रम मन्त्रालयमा स्थापना गरिएको कल सेण्टरमा खबर गर्नुस्, तपाईंले निःशुल्क कानूनी सहायतादेखि उद्धारसम्म सरकारले गर्ने भएको छ । त्यसैका लागि नेपालमा श्रम मन्त्रालयमै त्यस्तै गुनासोहरूको सुनुवाइ गर्न कल सेण्टर स्थापना गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा विदेशमा रहेका नेपाली कामदारको गुनासोको सुनुवाइ गर्न ‘कल सेण्टर’ सञ्चालनमा ल्याएको छ । श्रम मन्त्रालयमा स्थापना गरिएको उक्त सेण्टरको आज सोमवार श्रममन्त्री गोकर्ण विष्टले शुभारम्भ गरेका हुन् ।
मन्त्रालयका अनुसार उक्त कल सेण्टरमा वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, विदेशमा अलपत्र परेका नेपाली युवायुवती, स्वास्थ्यमा समस्या भएर नेपाल फर्कन चाहनेदेखि झुटा मुद्दाका कारण विदेशमा जेलमा परेकाहरूलाई निःशुल्क कानूनी सहायता र उद्धारका लागि आग्रह गर्न सकिनेछ ।
योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम सम्बन्ध, आन्तरिक रोजगारीबारे पनि गुनासो कल सेण्टरमा सुनाउन सकिनेछ । कल सेन्टरमा ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिने बताइएको छ । विदेशमा भएकाले भने इमेल, फेसबुक, म्यासेञ्जर, इमो, भाइबरजस्ता सामाजिक सञ्जालबाट पनि सम्पर्क गर्न सकिनेछ । यस्तै शुल्क लागे ं९७७१५९७००८ मा पनि फोन गर्न सकिने मन्त्रालयले जानकारी गराएको छ ।