बारको नयाँ नेतृत्व चयनका लागि आज मतदान, २५ पदका लागि ६३ जना भिड्दै |
काठमाडौं । नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वको लागि आज शनिबार मतदान भइरहेको छ । २०१३ सालमा स्थापित नेपाल बारले मतदानबाट आफ्नो २५ औंँ नेतृत्व चयन गर्दैछ । मतदानबाट बारको तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित हुन लागेको हो ।
बारमा २५ पदका लागि ६३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा १० हजार एक सय ४१ मतदाता छन् । निर्वाचनमा सत्तारूढ नेकपानिकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ र कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बाट अध्यक्ष सुनीलकुमार पोखरेल प्यानलसहित मैदानमा उत्रेका छन् । एनएलएलाई मधेसकेन्द्रित दल र डीएलएलाई राप्रपानिकट कानुन व्यवसायीको समर्थन छ ।
अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन—तीन जना र वाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ । यसैगरी काठमाडौं बाहिर ३४ मतदान केन्द्र तोकिएको छ ।



