ज्योति विकास र हाम्रो विकास बैंकको एकीकृत कारोबार शुरू, चुक्ता पूँजी ३ अर्ब १० करोड पुग्यो |
काठमाडौं । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपछि एकीकृत कारोवार हिजो शुक्रवारदेखि शुरू भएको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले ज्योति विकास बैंक एउटा सवल विकास बैंक रहेकोमा हाम्रो विकास बैंकलाई प्राप्ति गरेपछि झनै बलियो भएको र बैंकिङ सेवा अझ विस्तारित हुने विश्वास व्यक्त गरे । ज्योति विकास बैंकका अध्यक्ष तथा कार्यक्रमका सभापति हरिचन्द्र खड्काले दुई बैंकबीच एकीकृत कारोबार शुभारम्भले थप जिम्मेवारी बढेको र विस्तारित सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।
हाम्रो विकास बैंकका अध्यक्ष हरि प्रसादले नागरिकलाई सरल र सहज सेवा प्रदान गर्न १० वर्षअगाडि स्थापना भएको हाम्रो विकास बैंकले नागरिक र देशका लागि योगदान दिएको र उक्त कार्य अब अझ विस्तारित रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले एकीकृत कारोबारपश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरूमा चुक्ता पूँजीको हिसाबले सबैभन्दा ठूलो विकास बैंक भएको, शाखा सञ्जाल र बैंकिङ सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउनुहुँदै लघु कर्जादेखि ठूला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
एकीकृत कारोबारपश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढी, निक्षेप २६ अर्ब ३८ करोड र कर्जा २३ अर्ब ५७ करोड पुगेको छ भने शाखा संख्या ९५, एटीएम संख्या २३ र एक्स्टेन्सन काउण्टर संख्या २ पुगेको छ । बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड पुगेर चुक्ता पूँजीको हिसाबले देशकै ठूलो विकास बैंक बन्न सफल भएको छ । साथै, यसै आर्थिक वर्षभित्र थप २ वटा नयाँ शाखा तथा थप २६ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।



