उन्नति माइक्रोफाइनान्सको शेयर आवेदन जारी | हजारभन्दा बढी पर्ने शेयर १ सयमै किन्ने अवसर, ३ संस्थाको हकप्रद पनि विक्री हुँदै
काठमाडौं । एक हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको उन्नति माइक्रोफाइनान्सको शेयर १ सय रुपैयाँमा किन्ने अवसर आएको छ । उक्त फाइनान्सको हकप्रद १ सय रुपैयाँमा किन्ने अवसर आएको हो । उक्त संस्थाको हकप्रदका लागि यतिबेला आवेदन दिने क्रम जारी छ । उन्नतिको फागुन १३ गतेदेखि आवेदन खुला भएको थियो भने यही चैतसम्म आवेदन दिन सकिनेछ ।
यस संस्थाको दोस्रो बजारमा हिजो मंगलवार १ हजार २ सय ६९ रुपैयाँमा कारोबार भइरहेको छ । उन्नतिका शेयरधनीहरूले हकप्रदका लागि आवेदन दिएर १ सय रुपैयाँमै भर्न पाउनेछन् । संस्थाले ५ः१ को अनुपातमा हकप्रद निष्कासन गरेको हो ।
यसको धितोपत्र विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । पछिल्लो समय हकप्रद शेयरमा पर्याप्त आवेदन नपरेका कारण संस्थाले बाध्य भएर लिलामीमा विक्री गर्नुपरेको अवस्था छ । यसरी बजारमा राम्रो मूल्यमा कारोबार भइरहेकाले उक्त संस्थाको हकप्रद लिलामी गर्न नपर्ने विश्वास कम्पनीको हरकोे छ ।
यस्तै, अन्य दुई संस्थाको पनि हकप्रद शेयर निष्कासन भइरहेको छ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रदका लागि यतिबेला आवेदन दिन सकिनेछ ।
मेरो माइक्रोफाइनान्सको हकप्रदका लागि चैत २४ गतेसम्म र नेपाल इन्स्योरेन्सका लागि चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ । दुई संस्थामध्ये मेरो माइक्रोफाइनान्सको दोस्रो बजारमा ५ सय ८७ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ भने नेपाल इन्स्योरेन्सको प्रतिकित्ता ३ सय ७६ रुपैयाँमा कारोबार भइरहेको छ ।



