नेपाल चेम्बर र भियतनाम चेम्बरबीच सहकार्य गर्ने प्रतिवद्धता |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र नेपाल भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजबीच सहकार्य हुने भएको छ । दुवै चेम्बरबीच दुई देशीय व्यापार प्रवद्र्धनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।
नेपालका लागि भियतनामका नवनियुक्त राजदूत फाम सान्ह चाउको सम्मानमा नेपाल चेम्बर अफ कमर्श तथा नेपाल भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजद्वारा संयुक्त रूपमा आयोजित स्वागत समारोहमा सहभागी पदाधिकारीहरूले त्यस्तो प्रतिवद्धता व्यक्त गरिएको नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले विद्यमान आपसी मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न दुई मुलुकबीचको व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।
नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले द्विपक्षीय व्यवसाय प्रवद्र्धनका लागि धेरै सम्भावना भएको बताए । उनले लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालनपश्चात् भियतनामबाट सिधा हवाई सम्पर्क स्थापना हुन सकेमा पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने बताए ।
नेपालका लागि भियतनामी राजदूत फाम सान्ह चाउले नेपाल र भियतनामबीच साझा संस्कृति तथा समान ऐतिहासिक धरोहर भएको कुरा बताउँदै नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको चर्चा गरे । तर लगानी प्रवद्र्धनका लागि सामाजिक तथा राजनीतिक सुनिश्चितता हुनुपर्ने उनको धारणा थियो ।
भियतनामले हाल आर्थिक समृद्धिमा ठूलो उपलब्धि हासिल गरेको र नेपाल र भियतनामबीच व्यवसाय द्विपक्षीय व्यापार वृद्धिको अति ठूलो सम्भावना भएको बताए । आफ्नो कार्यकाल निजीक्षेत्रमैत्री हुने बताउँदै उनले आपसी व्यापार लगानी तथा पर्यटन प्रवद्र्धनमा जोड दिने बताए ।



