लक्ष्मी इण्टरकण्टिनेण्टलले भित्र्यायो हुण्डाईको नयाँ स्याण्ट्रो |

काठमाडौं । नेपालको लागि हुण्डाई मोटरको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इण्टर कण्टिनेण्टल प्रालिले हुण्डाईको नयाँ नयाँ स्यान्ट्रो गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नेपालको उत्कृष्ट फेमिली ह्याचब्याक गाडी दि अल न्यू स्यान्ट्रो हुण्डाई पुनः नेपाली बजारमा भित्र्याएको हो ।
कम्पनीले हुण्डाई मोटर्ससँगको साझेदारी १० वर्ष पुगेको अवसरमा काठमाडौंका सोल्टी होटलमा एक कार्यक्रमको आयोजना गरी उक्त नयाँ स्यान्ट्रो सार्वजनिक गरेको हो । बजारको बदलिँदो मागलाई ध्यानमा राखी मोडर्न र स्टाइलिस् डिजाइन, आरामदायी र प्रिमियम क्याबिन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफर्मान्सका साथ नयाँ स्यान्ट्रो गाडी पुनः नेपाली बजारमा भित्र्याएको छ ।
कार्यक्रममा लक्ष्मी इण्टर कण्टिनेण्टल प्रालिका महाप्रबन्धक रूपेश शर्मा भट्टले भने, ‘नेपाली परिवारले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी, स्यान्ट्रोलाई पुनः नयाँ र परिमार्जित संस्करणका साथ नेपाली बजारमा भित्र्याउन पाउँदा हामी अत्यन्त खुशी छौं । हुण्डाई स्यान्ट्रोको अघिल्लो संस्करणले नेपालीहरूको मन जित्न सफल भएको थियो र यो नयाँ स्यान्ट्रोले पनि ग्राहकहरूको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं । यो गाडीले पनि हाम्रा ग्राहकहरूलाई मोडर्न र प्रिमियम अनुभव दिन सफल हुनेछ ।’
नयाँ स्यान्ट्रोमा क्याबिन स्पेस बढी रहनुका साथै अन्य धेरै प्रिमियम विशेषताहरू रहेको कम्पनीले बताएको छ । यसमा १७.६४ से.मी. स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसन जडित अडियो भिडियो प्रणाली, रियर पार्किङ क्यामरा, स्टेरिङ माउण्टेड कन्ट्रोल अडियो तथा ब्लूटुथ कन्ट्रोल र रियर एसी भ्यान्स जडान गरिएको छ ।
नयाँ स्यान्ट्रोमा १.१ लिटर, ४– सिलिण्डर पेट्रोल इञ्जिन रहेको छ, जसले ६९ पीएस पावर र १०.१ केजीएमको टर्क प्रदान गर्नेछ । यो गाडीमा एन्टी लकदेखि इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रण्ट एयर ब्यागसमेत रहेको कम्पनीले बताएको छ ।