मुक्तिनाथ विकास बैंक अब ‘एक शिक्षक एक ल्यापटप’ अभियानमा |
काठमाडौं । मुक्तिनाथ विकास बैंक र आईसीटी इन एजुकेशन नेपाल प्रा.लि.बीच शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक मोहनबहादुर राउतले हस्ताक्षर गरेका हुन् ।
बैंकले ‘एक शिक्षक एक ल्यापटप’ अभियानलाई साथ दिन उक्त सम्झौता गरेको बताएको छ । नेपालका सरकारी, सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षण सिकाइकार्यमा सुधार ल्याई प्रविधियुक्त विद्यालय बनाई स्रव्यदृश्य सामग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरू प्रस्तुत गरी शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउने अभिप्रायले उक्त सम्झौता भएको बैंकले बताएको छ ।
उक्त सम्झौतासँगै अब सरकारी, सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरूलाई ल्यापटप खरिदका लागि मुक्तिनाथ विकास बैंकले सरल प्रक्रियामा कर्जा उपलब्ध गराउनेछ । यो कर्जा मुक्तिनाथ विकास बैंकले देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।
यसबाट विद्यालय, शिक्षक र विद्यार्थीहरूसमेत लाभान्वित हुने र विद्यालयको शैक्षिक गुणस्तरमा प्रभावकारिता आउने अपेक्षा बैंकले लिएको छ ।



