६ महिनामा वैदेशिक ब्यापार ː ४ प्रतिशतले आयात घटदा निर्यात २६ प्रतिशतले बढ्यो |
काठमाडौं । वैदेशिक ब्यापारको अर्धवार्षिक नतिजा पनि सकारात्मक आएको छ । भन्सार विभागले ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै आयात ४.०४ प्रतिशतले घटेको र निर्यात २६ प्रतिशतले बढेको जनाएको छ ।
पुस मसान्तसम्म कुल आयात ६ खर्ब ९४ अर्ब ६९ करोड रूपैयाँको भएको छ । निर्यात ५७ अर्ब २७ करोड रूपैयाँको भएको छ ।
विभागका अनुसार, ६ महिनाको अवधिमा ब्यापार घाटा ६ खर्ब ३७ अर्बमा झरेको छ । आयात घटेर निर्यात बढे पनि रकममा निर्यात निकै कम भएका कारण आयात∕निर्यात अनुपात भने २४ गुणा छ । नेपालले करिब १४४ देशसँग ब्यापार गरेको छ, त्यसमध्ये ११२ देशसँग ब्यापार घाटामा छ ।
सबैभन्दा बढी घाटा भारतसँग छ। त्यसपछि चीन, इन्डोनेसिया, युएइ र अमेरिकासँग छ। बचत भने माल्दिभ्स र सुडानजस्ता देशहरुसँग छ। ती देशसँग नेपालको ब्यापार एकदमै कम छ।
कुल आयातमध्ये डिजेल ४९ अर्ब १४ करोड रूपैयाँको आयात भएको छ। यसपछि पेट्रोल १८ अर्ब २७ करोडको आयात भएको छ। खाना पकाउने ग्यास १४ अर्ब ८७ करोडको आयात भएको छ। २२ अर्ब २५ करोडको स्टील भित्रिएको भन्सारको तथ्यांकमा उल्लेख छ। १ अर्ब ९३ करोडको सिमेन्ट क्लिंकर पनि भित्रिएको छ।


