बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब रुपैयाँ पुग्यो
काठमाडौं । नेपालको धितोपत्र बजारमा वैशाख मसान्तसम्म सकारात्मक सुधार देखिएको छ। २०८३ वैशाख मसान्तसम्म नेप्से सूचकाङ्क २७३०.१८ विन्दुमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेप्से २६२०.२७ विन्दुमा रहेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार धितोपत्र बजार पुँजीकरण बढेर ४६ खर्ब ५६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बजार पुँजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो। कुल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको हिस्सा ७०.५५ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा सूचीकृत कम्पनीहरूको संख्या २७१ बाट बढेर २९४ पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीको संख्या १३३, जलविद्युत कम्पनी १०३, उत्पादन तथा प्रशोधन उद्योग २८, होटल ९, लगानी कम्पनी ७ तथा व्यापारिक संस्था ४ रहेका छन्।
बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरूको हिस्सा ५०.७ प्रतिशत रहेको छ। जलविद्युत क्षेत्रको हिस्सा १७.५ प्रतिशत तथा उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३ वैशाख मसान्तमा सूचीकृत ९ अर्ब ४८ करोड शेयरको चुक्ता मूल्य ९३४ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा १ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ बराबरका थप धितोपत्र सूचीकृत भएका छन्। यसमा ४५ अर्ब ५४ करोड बराबरको साधारण शेयर, ४० अर्ब ३३ करोड बराबरको बोनस शेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, २७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, ९७ करोड १७ लाख बराबरको एफपीओ र २ करोड २९ लाख बराबरको अन्य रहेका छन्।
यसै अवधिमा नेपाल धितोपत्र बोर्ड ले ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। बोर्डले २७ अर्ब २३ करोड बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड बराबरको साधारण शेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, २० करोडको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ निष्काशनका लागि अनुमति दिएको छ।


