१० महिनामा बैंक तथा वित्तीय संस्थाका १६७ शाखा कार्यालय बन्द
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाका १६७ शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११ हजार ५२६ रहेकोमा २०८३ वैशाख मसान्तमा ११ हजार ३५९ रहेको हो ।
शाखा कार्यालय मर्ज गर्न राष्ट्र बैंकले सहजीकरण गर्दा बैंक तथा वित्तीय संस्थाले शाखा संख्या घटाउँदै लगेका हुन् । २०८३ वैशाख मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन्।
२०८३ वैशाख मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप खाताहरूको सङ्ख्या ६ करोड २७ लाख २३ हजार ७७ रहेको छ भने कर्जा खाताहरूको सङ्ख्या २० लाख ३७ हजार ४३५ रहेको छ ।
२०८३ वैशाख मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात क्रमशः ९.७६ प्रतिशत र १२.७० प्रतिशत रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३५.८८ प्रतिशत रहेको छ । २०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.६० प्रतिशत रहेको छ ।


