भृकुटीमण्डपमा मारवाडी संस्कृति र परम्पराको मेला, अवलोकनकर्ताको उत्साहजनक सहभागिता
काठमाडौं । मारवाडी समुदायको कला, संस्कृति, भाषा, भेषभूषा र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘मारवाडी महोत्सव २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। प्रेस्टिज इभेन्ट्स र मारवाडी समाजको संयुक्त आयोजनामा मंसिर १२ गते शनिबार सम्पन्न महोत्सवमा राजस्थानी कलाकारका सांस्कृतिक प्रस्तुतिदेखि परम्परागत खानाका परिकार र विभिन्न सांस्कृतिक स्टलसम्मले दर्शकको ध्यान आकर्षित गरेका थिए।
महोत्सवमा राजस्थानलगायत भारतका विभिन्न स्थानबाट आएका कलाकारहरूले राजस्थानी तथा मारवाडी संस्कृतिमा आधारित नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति दिएका थिए। परम्परागत भेषभूषामा सजिएका कलाकारहरूको प्रस्तुतिले महोत्सवस्थललाई राजस्थानी संस्कृतिको झल्को दिने वातावरण बनाएको थियो। स्थानीय मारवाडी समुदायका सदस्यहरूले समेत विभिन्न नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।
महोत्सवमा राखिएका विभिन्न राजस्थानी स्टलहरू पनि आकर्षणको केन्द्र बने। स्टलमार्फत मारवाडी समुदायका मौलिक खानाका परिकार, परम्परागत रहनसहन, कला, संस्कृति र सांस्कृतिक पहिचानसँग सम्बन्धित सामग्री प्रस्तुत गरिएको थियो। यसले आगन्तुकलाई मारवाडी समुदायको जीवनशैली र परम्पराबारे नजिकबाट बुझ्ने अवसर प्रदान गरेको थियो।
राजस्थानी गीत–संगीत र नृत्यसँगै नेपाली गीत–संगीतका प्रस्तुतिसमेत समावेश गरिएको महोत्सवले नेपाली र मारवाडी समुदायबीचको सांस्कृतिक सम्बन्धलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको थियो। विभिन्न समुदायका व्यक्तिहरूको सहभागिताले महोत्सवलाई सांस्कृतिक आदानप्रदानको साझा थलोका रूपमा स्थापित गरेको आयोजकले जनाएको छ।
महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गरेका थिए। कार्यक्रममा राष्ट्रिय सभा सांसद डा. अन्जान शाक्य, काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, नेपाल मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवाललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका सभापति तथा प्रेस्टिज मारवाडी समाजका अध्यक्ष मदन मित्तलले महोत्सवले मारवाडी समुदायको मौलिक पहिचानलाई व्यापक रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको बताए।
कार्यक्रममा उद्योगपति तथा समाजसेवी राजेन्द्र खेतानले मारवाडी समुदायको इतिहास, सांस्कृतिक पहिचान र नेपालमा समुदायले पुर्याउँदै आएको योगदानबारे चर्चा गरेका थिए। उनले व्यापार, उद्योग, रोजगारी सिर्जना तथा सामाजिक सेवामार्फत मुलुकको आर्थिक र सामाजिक विकासमा मारवाडी समुदायले खेलेको भूमिकालाई स्मरण गर्दै यसको इतिहास र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए।
नेपालमा मारवाडी समुदायले व्यापार, व्यवसाय, उद्योग तथा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएको छ। आर्थिक गतिविधिको विस्तार, रोजगारी सिर्जना तथा सामाजिक सेवामा समुदायको सहभागिता रहँदै आएको सन्दर्भमा महोत्सवले समुदायको सांस्कृतिक पक्षलाई समेत सार्वजनिक रूपमा प्रस्तुत गरेको छ।
आयोजकका अनुसार मारवाडी समुदायको भाषा, भेषभूषा, चाडपर्व, रीतिरिवाज र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु महोत्सवको प्रमुख उद्देश्य हो। आफ्नो सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै अन्य समुदायसँग आपसी सद्भाव र सम्बन्ध विस्तार गर्ने लक्ष्य पनि यससँग जोडिएको छ।महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न अग्रवाल युवा मञ्चले व्यवस्थापकीय भूमिका निर्वाह गरेको थियो।
राजस्थानी कला, संगीत, खानपान र परम्परालाई नेपाली समाजमाझ प्रस्तुत गरेको यस महोत्सवले नेपालको बहुसांस्कृतिक पहिचानलाई थप उजागर गर्नुका साथै समुदायबीचको एकता, सद्भाव र सांस्कृतिक सहकार्यको सन्देश दिएको छ।






