प्रहरी उपरीक्षक कबित कटवाललाई संघद्वारा विदाई
बिराटनगर । नेपाल प्रहरीको नियमित वार्षिक सरुवा प्रक्रिया अन्तर्गत मोरङ जिल्लाबाट अन्यत्र सरुवा हुनुभएका जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवाललाई मोरङ उद्योग व्यापार संघले शुक्रबार एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ । संघका अध्यक्ष अनिल कुमार साहको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा उहाँलाई विदाई गरिएको हो ।
कार्यक्रममा अध्यक्ष साहले संघसँग एसपी कटवालको सामिप्यता र मोरङजस्तो संवेदनशील क्षेत्रमा उहाँले निर्वाह गर्नुभएको कुशल भूमिकाको प्रशंसा गर्नु भएको थियो । संघका विगतका कार्यक्रम तथा एक्स्पो आयोजनामा उहाँबाट प्राप्त अहोरात्र सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै साहले संघ र उद्योगी–व्यवसायीसँगको उहाँको सम्बन्ध ऐतिहासिक बनेको बताउनु भई उहाँको आगामी दिनका लागि उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।
विदाई कार्यक्रममा एसपी कटवालले मोरङ जिल्लामा कार्यरत रहँदा संघबाट हरबखत प्राप्त सहयोगको प्रशंसा गर्नु भएको थियो । उहाँले अपराध नियन्त्रणका लागि संघको सहयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै संघ र कार्यसमितिबाट सहकार्यका लागि सदैव तत्पर र तयार रहेको पाएको बताउनु भएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल सारडा, उपाध्यक्ष संजय कुमार श्रेष्ठ, आमन्त्रित सदस्य श्रृति शर्मा लगायतले आ–आफ्नो अनुभव सुनाउनुका साथै उहाँको सदा सहयोगी कार्यहरूको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला उद्यमीहरू लगायतको सक्रीय उपस्थिति रहेको थियो ।



