स्वास्थ्य क्षेत्रमा नेपालको फड्को: ३३ वर्षमा औसत आयु ७३.५ वर्ष पुग्यो, नसर्ने रोग मुख्य चुनौती
काठमाडौँ । विगत तीन दशकको अवधिमा नेपालीको औसत आयुमा उल्लेख्य सुधार आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनअनुसार विगत ३३ वर्ष (सन् १९९० देखि २०२३ सम्म) मा नेपालीको जन्मकालीन औसत आयु १५.४ वर्षले बढेर ७३.५ वर्ष पुगेको हो।
इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आईएचएमई) को ‘ग्लोबल बर्डन अफ डिजिज स्टडी २०२३’ लाई उद्धृत गर्दै मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् १९९० मा नेपालीको औसत आयु ५८.१ वर्ष मात्र थियो। सन् २०२० मा ७२.२ वर्ष रहेको औसत आयु पछिल्लो तीन वर्षको अवधिमा मात्रै १.३ वर्षले थपिएको प्रतिवेदनमा उल्लेख छ।
आयु बढ्नुको मुख्य कारण: मातृ तथा शिशु मृत्युदरमा आएको ऐतिहासिक गिरावट, आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवाको विस्तार, प्रभावकारी खोप कार्यक्रम, जनस्वास्थ्य सचेतना र सामाजिक क्षेत्रमा भएको निरन्तर लगानीका कारण नेपालीको आयु लम्बिएको प्रतिवेदनले औँल्याएको छ।
नसर्ने रोग मुख्य चुनौती: औसत आयु बढेसँगै नेपालको स्वास्थ्य क्षेत्रमा रोगको प्रकृति भने बदलिएको छ। प्रतिवेदनअनुसार हाल नेपालमा हुने कुल मृत्युको ७० प्रतिशत कारण नसर्ने रोग (मुटुरोग, मधुमेह, क्यान्सर, श्वासप्रश्वास आदि) बनेको छ। जेष्ठ नागरिकको जनसङ्ख्या बढ्दै गएका प्रदेशहरूमा नसर्ने रोगको जोखिम उच्च देखिएको छ भने उपचारमा हुने व्यक्तिगत खर्च र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहेको छ।



