बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
प्रेमचन्द्र झा
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को यही मंसिर ६ र ७ गते भएको भारतको राजकीय भ्रमणलाई नेपाल–भारत सम्बन्धको नयाँ अध्यायका रूपमा लिन सकिन्छ। यो भ्रमण केवल दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक भेटघाटमा सीमित रहेन, बरु आर्थिक विकास, व्यापार, पारवहन, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र जनस्तरको सम्बन्धलाई नयाँ गति दिने प्रयासका रूपमा देखा परेको छ।
नेपाल र भारतबीचको सम्बन्ध सामान्य दुई छिमेकी मुलुकबीचको सम्बन्ध मात्र होइन। यो भूगोल, इतिहास, संस्कृति, धर्म, भाषा, परम्परा, पारिवारिक सम्बन्ध र आर्थिक अन्तरनिर्भरताले जोडिएको विशेष सम्बन्ध हो। खुला सीमाका कारण दुवै देशका नागरिक एकअर्काको भूमिमा सहज रूपमा आवतजावत गर्छन्। नेपालीहरू रोजगारी, शिक्षा, उपचार र व्यापारका लागि भारत पुग्छन् भने भारतीय नागरिकहरू पर्यटन, व्यापार, तीर्थाटन र विभिन्न व्यवसायका लागि नेपाल आउँछन्।
यस्तो गहिरो सम्बन्ध भएको अवस्थामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई राजनीतिक चस्माले मात्र हेर्नु उचित हुँदैन। यसलाई दुवै देशका आम नागरिकको जीवनस्तरमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने दृष्टिकोणबाट मूल्याङ्कन गर्नुपर्छ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता, राष्ट्रपति द्रौपदी मुर्मूसँगको शिष्टाचार भेट, विभिन्न समझदारीपत्रमा हस्ताक्षर तथा विकास आयोजनासम्बन्धी सहमतिले भविष्यमा सकारात्मक परिणाम दिने अपेक्षा जगाएका छन्। तर कूटनीतिक भ्रमणको वास्तविक सफलता घोषणापत्र र तस्बिरमा होइन, त्यसबाट नागरिकले पाउने प्रत्यक्ष लाभमा मापन हुनुपर्छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पहिलो सकारात्मक पक्ष दुई देशबीच उच्चस्तरीय राजनीतिक संवाद र विश्वासको वातावरणलाई निरन्तरता दिनु हो। नेपालमा सरकार परिवर्तन हुँदा भारतसँगको सम्बन्ध कस्तो रहने भन्ने विषयले प्रायः चर्चा पाउने गरेको छ। कहिले सीमा विवाद, कहिले व्यापार तथा पारवहन, कहिले जलस्रोत र कहिले राजनीतिक धारणाका कारण दुई देशबीच असमझदारी देखिने गरेको छ।
यस्तो परिस्थितिमा नयाँ प्रधानमन्त्रीले भारतसँग संवादको ढोका खुला राख्नु परिपक्व कूटनीतिक कदम हो। छिमेकी परिवर्तन गर्न सकिँदैन, तर सम्बन्धलाई अझ विश्वासिलो, सम्मानजनक र परिणाममुखी बनाउन सकिन्छ।
नेपालले आफ्नो राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कायम राख्दै भारतसँग सहकार्य गर्नुपर्छ। त्यस्तै भारतले पनि नेपाललाई एउटा सानो छिमेकीका रूपमा होइन, समान सार्वभौमिकता भएको मित्रराष्ट्रका रूपमा सम्मान गर्नुपर्छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको चर्चित उपलब्धिमध्ये भारतले नेपाललाई घोषणा गरेको २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग महत्वपूर्ण छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतीय रुपैयाँ १५ हजार करोड अर्थात् नेपाली रुपैयाँ २४ हजार करोड बराबरको विकास सहकार्य उपलब्ध गराउने घोषणा गरेका छन्। यसमध्ये नेपाली रुपैयाँ ५ हजार ६ सय करोड विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणका लागि अनुदान र १८ हजार ४ सय करोड ऊर्जा क्षेत्रका आयोजनाका लागि ऋण सुविधा हो।
तर एउटा कुरा स्पष्ट हुनुपर्छ। २४ हजार करोड रुपैयाँ सबै अनुदान होइन। यसको ठूलो हिस्सा ऋण हो। त्यसैले सरकारले ऋणको ब्याजदर, भुक्तानी अवधि, परियोजनाको आर्थिक प्रतिफल र नेपालको दीर्घकालीन ऋणभारलाई ध्यानमा राखेर सम्झौता गर्नुपर्छ।
नेपाल भूपरिवेष्टित मुलुक भएकाले अन्तर्राष्ट्रिय व्यापारका लागि छिमेकी देशको पारवहन सुविधामा निर्भर रहनुपर्छ। नेपालको आयात–निर्यातमा भारतीय मार्ग र बन्दरगाहको महत्वपूर्ण भूमिका छ।
यस भ्रमणका क्रममा भारतले गुजरातस्थित काण्डला बन्दरगाह हुँदै नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि नयाँ पारवहन सुविधा उपलब्ध गराउने सहमति गरेको छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहको पहुँचसमेत उपलब्ध गराउने सहमति भएको छ।
यो नेपालको व्यापारिक भविष्यका लागि महत्वपूर्ण विषय हो। अहिलेसम्म सीमित पारवहन विकल्पमा निर्भर रहँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु पुर्याउन समय र खर्च दुवै बढ्ने समस्या छ। थप बन्दरगाहको पहुँचले ढुवानीको विकल्प बढाउन, प्रतिस्पर्धा सिर्जना गर्न र व्यापार लागत घटाउन सहयोग गर्न सक्छ।
यसको प्रत्यक्ष लाभ नेपाली उद्योगी, व्यवसायी, किसान, निर्यातकर्ता र उपभोक्ताले पाउन सक्छन्। विशेषगरी नेपालको कृषि उत्पादन, जडीबुटी, चिया, अलैँची, हस्तकला तथा अन्य निर्यातयोग्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहज वातावरण बनाउन सकिन्छ।
नेपालको पर्यटन विकासका लागि हवाई सम्पर्क अत्यन्त महत्वपूर्ण छ। भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। यसअघि उक्त मार्ग एकतर्फी सञ्चालनको व्यवस्थामा थियो। अब प्राविधिक परामर्शपछि भारतबाट यही मार्ग हुँदै नेपाल प्रवेश गर्ने सुविधा विस्तार गर्ने प्रक्रिया अघि बढ्नेछ।
यसबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता बढाउने सम्भावना छ। भैरहवा विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा आउँदा लुम्बिनी भ्रमण गर्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई सुविधा पुग्न सक्छ। यसले होटल, यातायात, पर्यटन व्यवसाय, स्थानीय व्यापार र रोजगारीमा सकारात्मक प्रभाव पार्न सक्छ।
नेपाल र भारतबीचको सम्बन्धको सबैभन्दा बलियो पक्ष धार्मिक तथा सांस्कृतिक निकटता हो। नेपालको जनकपुरधाम माता जानकीको जन्मभूमि र भारतको अयोध्या भगवान् श्रीरामको जन्मभूमिका रूपमा विश्वभर परिचित छन्।
यी दुई धार्मिक तथा सांस्कृतिक सहरलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको शुभारम्भ भ्रमणको महत्वपूर्ण उपलब्धि हो। यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
यसको सकारात्मक प्रभाव केवल तीर्थयात्रीको आवागमनमा सीमित रहने छैन। जनकपुरका होटल व्यवसायी, यातायात व्यवसायी, स्थानीय पसल, हस्तकला व्यवसायी तथा साना उद्यमीले आर्थिक लाभ लिन सक्छन्। अयोध्याबाट जनकपुर आउने भारतीय पर्यटकको संख्या बढ्दा मधेश प्रदेशको पर्यटन अर्थतन्त्रलाई समेत टेवा पुग्न सक्छ।
बालेन शाहको भारत भ्रमणको चर्चा गर्दा मधेश प्रदेशको सम्भावनालाई विशेष रूपमा उल्लेख गर्न आवश्यक छ। नेपाल–भारत खुला सीमासँग प्रत्यक्ष जोडिएको मधेशका आठ जिल्लाका नागरिकको दैनिक जीवन भारतीय बजार, व्यापार, शिक्षा, स्वास्थ्य, रोजगारी र पारिवारिक सम्बन्धसँग जोडिएको छ।
रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका नागरिकका लागि भारतसँगको सहज आवागमन कुनै कूटनीतिक नाराभन्दा पनि दैनिक जीवनको आवश्यकता हो।
विशेषगरी रौतहटको गौर, राजपुर, ईशनाथ, परोहा, बौधिमाई, कटहरिया, गढीमाईलगायत सीमावर्ती क्षेत्रका नागरिकले भारतको बिहार राज्यका बजारसँग व्यापारिक सम्बन्ध राख्दै आएका छन्। भारतको बैरगनिया, सीतामढी, मोतिहारी, रक्सौल, मुजफ्फरपुर र पटना जस्ता सहरसँग मधेशका नागरिकको आर्थिक तथा सामाजिक सम्बन्ध छ।
त्यसैले दुई देशबीचको सम्बन्ध सुधार हुँदा यसको प्रत्यक्ष लाभ सीमावर्ती नागरिकले पाउनुपर्छ। सीमामा अनावश्यक झन्झट कम हुनुपर्छ। व्यापारिक सामानको ओसारपसार व्यवस्थित र पारदर्शी हुनुपर्छ। साना व्यापारी, किसान र सर्वसाधारणलाई सहज आवागमनको वातावरण बनाउनुपर्छ।
नेपाल जलस्रोतमा धनी देश हो। यहाँ उत्पादन हुने जलविद्युत् नेपालका लागि आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्छ। भारतसँगको ऊर्जा सहकार्यले नेपालको जलविद्युत् उत्पादन, प्रसारण र निर्यातको सम्भावनालाई विस्तार गर्न सक्छ।
भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। त्यस्तै पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सप्तकोशी र सुनकोशी आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अघि बढाउने सहमति भएको छ।
यसबाट नेपालले जलविद्युत् उत्पादन बढाउन, भारतीय बजारमा विद्युत् निर्यात गर्न र विदेशी मुद्रा आर्जन गर्न सक्छ। तर जलविद्युत् आयोजनामा लगानी गर्दा नेपालको हितलाई केन्द्रमा राख्नुपर्छ। पानीको उपयोग, विद्युत् उत्पादन, मूल्य निर्धारण, वातावरणीय प्रभाव, स्थानीय बासिन्दाको पुनर्वास र लाभको बाँडफाँटमा पारदर्शिता हुनुपर्छ।
भ्रमणका क्रममा भएका शिक्षा, स्वास्थ्य, अनुसन्धान, सुरक्षा र प्रशासनिक क्षमता अभिवृद्धिसम्बन्धी समझदारी पनि महत्वपूर्ण छन्। नेपालमा भारतीय प्रविधि संस्थान (आई आई टी) को अफसोर क्याम्पस स्थापना गर्ने सहमति भविष्यका विद्यार्थीका लागि महत्वपूर्ण अवसर हुन सक्छ।
त्यस्तै नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालयबीच अनुसन्धान तथा शैक्षिक सहकार्य गर्ने समझदारी भएको छ। स्वास्थ्य सेवा, औषधि, स्याटेलाइट सञ्चार, दिगो सहरी विकास, पशुपालन तथा मत्स्य विकासमा सहकार्यका समझदारी भएका छन्।
यी विषय सामान्य प्राविधिक सम्झौता जस्ता लाग्न सक्छन्, तर कार्यान्वयन भएमा आम नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सक्छन्। उदाहरणका लागि फरेन्सिक विज्ञानमा सहकार्यले अपराध अनुसन्धानलाई वैज्ञानिक र विश्वसनीय बनाउन मद्दत गर्न सक्छ। स्वास्थ्य क्षेत्रमा सहकार्यले उपचार पद्धति, औषधि तथा चिकित्सकीय ज्ञानको आदानप्रदानलाई सहज बनाउन सक्छ।
नेपालको ठूलो जनसंख्या कृषिमा निर्भर छ। विशेषगरी मधेश प्रदेशको अर्थतन्त्र कृषि, पशुपालन, दुग्ध व्यवसाय, माछापालन र साना उद्योगमा आधारित छ। नेपाल र भारतबीच पशुपालन तथा मत्स्य विकासमा सहकार्य गर्ने समझदारी भएको छ। त्यस्तै चितवनमा भारतको अनुदान सहयोगमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणा भएको छ।
यसलाई मधेशको कृषि विकाससँग पनि जोड्न सकिन्छ। नेपालका किसानले मल, बीउ, आधुनिक प्रविधि, सिँचाइ, बजार व्यवस्थापन र कृषि उत्पादनको उचित मूल्य नपाउने समस्या भोगिरहेका छन्। भारतसँगको सहकार्यबाट कृषि अनुसन्धान, उन्नत बीउ, पशु स्वास्थ्य सेवा, माछापालन प्रविधि र कृषि प्रशोधन उद्योगमा सहयोग लिन सकिन्छ।
रौतहट, बारा, पर्सा र सर्लाहीमा कृषि प्रशोधन उद्योग स्थापना गर्न सकिएमा स्थानीय किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउन सक्छन्। धान, गहुँ, मकै, उखु, तरकारी, फलफूल, दूध र माछाको उत्पादनलाई उद्योगसँग जोड्नुपर्छ।
कुनै पनि प्रधानमन्त्रीको विदेश भ्रमणको मूल्याङ्कन गर्दा आम नागरिकको जीवनमा के परिवर्तन आउँछ भन्ने विषय सबैभन्दा महत्वपूर्ण हुन्छ। बालेन शाहको भ्रमणका सहमतिहरू कार्यान्वयन भएमा रोजगारी सिर्जना, व्यापार विस्तार, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, पर्यटन प्रवर्द्धन, ऊर्जा निर्यात र पूर्वाधार विकासमा सकारात्मक प्रभाव पर्न सक्छ।
भारतका आम नागरिकले पनि यसबाट लाभ लिन सक्छन्। नेपालको पर्यटन, जलविद्युत्, कृषि, व्यापार र पूर्वाधारमा भारतीय लगानीको सम्भावना बढ्न सक्छ। भारतीय पर्यटकलाई नेपाल भ्रमण सहज हुन सक्छ। भारतीय उद्योगले नेपाली बजार तथा उत्पादनसँग जोडिने अवसर पाउन सक्छन्।
तर कुनै पनि भ्रमणको मूल्याङ्कन केवल प्राप्त उपलब्धिका आधारमा मात्र हुँदैन। कुन विषय उठाइयो, कुन विषय छुट्यो र कुन विषय भविष्यका लागि बाँकी रह्यो भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
बालेन शाहको भारत भ्रमणले धेरै नयाँ सम्भावना खोले पनि केही पुराना र संवेदनशील विषयमा ठोस राजनीतिक समाधानको घोषणा हुन सकेन। नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद अझै समाधान हुन सकेको छैन। यो विषय नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय हो।
नेपाल र भारतका विज्ञ सम्मिलित प्रबुद्ध व्यक्ति समूहले दुई देशबीचको सम्बन्धलाई समयानुकूल बनाउन सुझावसहित प्रतिवेदन तयार गरेको थियो। तर उक्त प्रतिवेदनको कार्यान्वयन अझै अनिश्चित छ। दुवै देशका सरकारले प्रतिवेदनको अध्ययन गरी आवश्यक निर्णय लिनुपर्छ।
नेपाल र भारतबीच व्यापारिक सम्बन्ध विस्तार हुँदै गए पनि नेपालले भारतसँग ठूलो व्यापार घाटा व्यहोर्दै आएको छ। नेपाली वस्तुलाई भारतीय बजारमा पुर्याउँदा विभिन्न प्रक्रियागत, गुणस्तर परीक्षण र गैरभन्सार अवरोधका समस्या देखिने गरेका छन्। यसले नेपाली उद्योगी तथा निर्यातकर्तालाई निरुत्साहित गर्ने गरेको छ।
नेपालले भारतसँग नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ। विशेषगरी कृषि उत्पादन, जडीबुटी, हस्तकला, जलविद्युत् र साना उद्योगका वस्तु निर्यातमा सहज व्यवस्था आवश्यक छ।
नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धमा गोर्खा सैनिकको योगदान विशेष छ। तर पछिल्लो समय गोर्खा सैनिक भर्तीसम्बन्धी विषयमा स्पष्टता र सहमतिको आवश्यकता कायम छ। नेपाली युवाको रोजगारी, सेवा सर्त, सामाजिक सुरक्षा र भविष्यसँग जोडिएको यो विषयलाई दुवै देशले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ।
नेपाल–भारत सम्बन्धको अर्को संवेदनशील पक्ष खुला सीमा हो। सीमामा हुने अनधिकृत गतिविधि नियन्त्रण गर्नु दुवै देशको जिम्मेवारी हो। तर त्यसको नाममा सर्वसाधारण, किसान, बिरामी, विद्यार्थी र साना व्यापारीले अनावश्यक दुःख पाउनु हुँदैन।
सीमावर्ती क्षेत्रमा वर्षायाममा डुबान, नदी कटान, बाँध तथा तटबन्ध व्यवस्थापन, चोरी–तस्करी, मानव बेचबिखन र आवागमनसम्बन्धी समस्या देखिने गरेका छन्। विशेषगरी रौतहटलगायत मधेशका सीमावर्ती जिल्लामा वर्षेनी डुबान र बाढीको समस्या गम्भीर बन्ने गरेको छ।
नेपाल र भारतबीच सीमा क्षेत्रमा निर्माण भएका संरचना, नदीको बहाव, तटबन्ध तथा जलनिकाससम्बन्धी विषयमा संयुक्त प्राविधिक संयन्त्र सक्रिय हुनुपर्छ। सीमाको दुवैतर्फ बस्ने नागरिकको जीवन सुरक्षित बनाउनु सरकारहरूको पहिलो दायित्व हो।
नेपालको भौगोलिक अवस्था र अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्दा भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। त्यस्तै चीन, अमेरिका र अन्य मित्रराष्ट्रसँगको सम्बन्ध पनि नेपालको विकास र समृद्धिका लागि आवश्यक छ।
नेपालले कुनै पनि देशको पक्ष वा विपक्षमा उभिनेभन्दा आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ। भारत नेपालको नजिकको छिमेकी र प्रमुख व्यापारिक साझेदार हो। त्यसैले भारतसँगको सम्बन्ध बिगारेर नेपालले फाइदा लिन सक्दैन। त्यस्तै मित्रताको नाममा राष्ट्रिय हित, सार्वभौमिकता र स्वाभिमानका विषयमा सम्झौता गर्नु पनि उचित हुँदैन।
बालेन सरकारले भारतसँग आर्थिक सहकार्य बढाउँदै चीनलगायत अन्य देशसँग पनि सन्तुलित सम्बन्ध कायम गर्न सक्नुपर्छ। नेपालको विदेश नीति भावनामा होइन, राष्ट्रिय आवश्यकता, आर्थिक सम्भावना र दीर्घकालीन रणनीतिमा आधारित हुनुपर्छ।
बालेन शाहको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारीलाई सकारात्मक मान्न सकिन्छ। तर नेपाल–भारत सम्बन्धको इतिहास हेर्दा धेरै आयोजना र प्रतिबद्धता वर्षौंदेखि कार्यान्वयनको प्रतीक्षामा रहेका छन्। कहिले बजेटको अभाव, कहिले जग्गा अधिग्रहण, कहिले प्राविधिक विवाद, कहिले प्रशासनिक ढिलाइ र कहिले राजनीतिक असमझदारीका कारण आयोजना अलपत्र पर्ने गरेका छन्।
त्यसैले यसपटक सरकारले विशेष सावधानी अपनाउनुपर्छ। भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका लागि स्पष्ट समयसीमा, जिम्मेवार निकाय, बजेट र नियमित अनुगमनको व्यवस्था गर्नुपर्छ। दुई देशबीच भएका सहमति कार्यान्वयनको प्रगति सार्वजनिक गर्नुपर्छ।
दुई देशका नागरिकबीच सद्भाव, विश्वास र आत्मीयता बढाउन सांस्कृतिक कार्यक्रम, विद्यार्थी आदानप्रदान, खेलकुद प्रतियोगिता, व्यापारिक सम्मेलन र पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्छ। यसले धार्मिक पर्यटनसँगै आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई पनि बलियो बनाउनेछ।
विशेषगरी युवापुस्तालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ। नेपालका युवाले आफ्नै देशमा रोजगारी पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता हुनुपर्छ। भारतसँगको सहकार्यले नेपालमा उद्योग स्थापना, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी बढाउन सकेमा विदेश पलायनको समस्या कम गर्न पनि सहयोग पुग्न सक्छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई समग्रमा सकारात्मक, सम्भावनायुक्त र भविष्यका लागि महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा लिन सकिन्छ। विकास सहयोग, बन्दरगाहको पहुँच, हवाई मार्ग, जनकपुर–अयोध्या रेल सेवा, ऊर्जा विकास, पेट्रोलियम पाइपलाइन, कृषि, शिक्षा, स्वास्थ्य, प्रहरी तालिम र प्रशासनिक सहकार्यका विषयले दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिन सक्ने आधार तयार गरेका छन्।
भारतले नेपाललाई असल छिमेकी र समान सार्वभौमिकता भएको मित्रराष्ट्रका रूपमा व्यवहार गर्नुपर्छ। नेपालले पनि आफ्नो राष्ट्रिय हितलाई स्पष्ट राख्दै भारतसँगको सम्बन्धलाई आर्थिक विकास, व्यापार र जनताको समृद्धिसँग जोड्नुपर्छ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने नेपाल र भारतको सम्बन्ध कुनै एउटा प्रधानमन्त्री, एउटा राजनीतिक दल वा एउटा सरकारको मात्र विषय होइन। यो दुई देशका करोडौँ नागरिकको भविष्यसँग जोडिएको विषय हो।
त्यसैले बालेन शाहको भारत भ्रमणलाई न त अन्धसमर्थनको दृष्टिले हेर्नुपर्छ, न त राजनीतिक पूर्वाग्रहका आधारमा नकारात्मक टिप्पणी गर्नुपर्छ। प्राप्त उपलब्धिको स्वागत गर्दै छुटेका विषयमा सरकारलाई जिम्मेवार बनाउनु नै सचेत नागरिकको दायित्व हो।
नेपाललाई भारतसँग मित्रता चाहिएको छ, तर त्यो मित्रता समानता र सम्मानमा आधारित हुनुपर्छ। भारतलाई पनि नेपालसँगको सम्बन्ध चाहिएको छ भने नेपालको स्वाभिमान र राष्ट्रिय हितको सम्मान गर्न सक्नुपर्छ।
दुवै देशको सम्बन्धमा विश्वास बढोस्, सीमावर्ती नागरिकको जीवन सहज बनोस्, व्यापार फस्टाओस्, युवाले रोजगारी पाऊन्, किसानले उत्पादनको उचित मूल्य पाऊन् र दुवै देशका जनताको जीवनस्तर माथि उठोस्।
अन्ततः बालेन शाहको भारत भ्रमणको सफलता भ्रमणका क्रममा भएका सम्झौता र घोषणाको संख्याले होइन, ती सम्झौताबाट नेपाली र भारतीय नागरिकले पाएको वास्तविक लाभले निर्धारण गर्नेछ।
नारा होइन, परिणाम चाहिएको छ। आश्वासन होइन, कार्यान्वयन चाहिएको छ। राजनीतिक स्वार्थ होइन, दुवै देशका जनताको समृद्धि चाहिएको छ।
यही नै नयाँ नेपाल–भारत सम्बन्धको वास्तविक लक्ष्य र आजको आवश्यकता हो।



