एन्फामाथिको सरकारी प्रतिबन्ध फुकुवा, फिफाको निलम्बन एक महिनाभित्र हट्ने संकेत
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि करिब आठ महिनादेखि लगाउँदै आएको आन्तरिक प्रतिबन्ध फुकुवा गरेको छ। थाइल्यान्डको बैंककमा नेपाल सरकार, विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिहरूबीच भएको उच्चस्तरीय वार्तापछि यो निर्णय लिइएको हो।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहितको सरकारी टोली र फिफा–एएफसीका अधिकारीहरूबीच भएको सहमतिअनुसार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बिनासरकारी हस्तक्षेप काम गर्न दिने र रोकिएको निर्वाचन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। राखेपले प्रतिबन्ध हटाएसँगै फिफाले लगाएको अन्तर्राष्ट्रिय निलम्बन पनि आगामी एक महिनाभित्रै फुकुवा हुने बलियो आधार बनेको छ।




